काठमाडौँ– आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलका लागि भारतको चेन्नईमा तयारी गरिरहेको नेपालले अभ्यास खेलमा जित हात पारेको छ । नेपालले डिन्डिगुल ड्रयागन्सलाई १५३ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


चेन्नईको एसआरएम युनिभर्सिटीको खेलमैदानमा सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले डिन्डिगुल ड्रयागन्समाथि फराकिलो जित हात पारेको हो । २१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको डिन्डिगुल ड्रयागन्सले ३५.३ ओभरमा अलआउट हुँदै ६३ रनमात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


डिन्डिगुल ड्रयागन्सका कुनै पनि खेलाडीले नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । डिन्डिगुल ड्रयागन्सका लागि एमडी आसिफ याले २४ र रथनम अभरले १५ रन बनाए ।

नेपालका लागि सागर पुनले ३, सोमपाल कामी र सन्दिप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक परेका सुशील कँडेल र ललित भण्डारीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१६ रन बनाएको थियो । सोमपाल कामी र बसन्त रेग्मीले नेपाली इनिङ्स सम्हालेका थिए । सोमपालले ६६ र बसन्तले नटआउट ५६ रनको अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९, आशिफ शेखले २१ र सागर पुनले १५ रन बनाए ।

नेपालका अग्रपंक्तिका ब्याट्सम्यान कप्तान पारस खड्का शून्य रनमा आउट भए । त्यस्तै, शरद भेषवाकर र विनोद भण्डारी भने समान १–१ रनमा आउट हुँदा नेपालको स्थिति निकै नाजुक अवस्थामा पुगेको थियो ।

नेपालले अक्टोबर १३ देखि १५ सम्म हङकङको घरेलु भूमिमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुवै खेल जित्नैपर्ने हुन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । त्यस्तै, हङकङ दोस्रो स्थानमा छ । नेपालले च्याम्पियनसिपको अन्तिम खेल युएईसँग खेल्नेछ ।