काठमाडौँ– उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ औँं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् ।


ADVERTISEMENT


न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित : शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करी कार्यक्रममा पनि सहभागी भए । सो अवसरमा उनले संयुक्त राष्ट्र संघअन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए । उनले नेपाल जबर्जस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पष्ट पारे ।

त्यसअघि परराष्ट्र मन्त्री महरा दिगो विकासका लागि पानी भन्ने अन्तक्र्रियामा सहभागी भएका थिए । सो अन्तक्र्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्नसक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।

त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्री महराले सहभागिता जनाए । त्यस लगतै उनी महासचिव एन्टोनियोले आयोजना गर्नुभएको भोगमा सहभागी भए ।

त्यसैगरी उनले मित्रराष्ट्र नर्वेका विदेश मन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गरे । सो अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको थियो ।

महासभाकै अवसरमा उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नेछन् । त्यस्तै उनले असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकासशील मुलुकको बैठमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्युयोर्क पुग्दै छन् ।