चितवन – विश्वका भैंसी विज्ञको उपस्थितिमा दशौं एसिया क्षेत्रीय भैंसी विज्ञको महासभा (दशौं एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ ।


ADVERTISEMENT


आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौंमा हुन लागेको हो ।


ADVERTISEMENT

# # #


एसियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार पशु सेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकार अन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी रहेका छन् ।

हरेक ३–३ वर्षमा हुने महासभा पहिलोपटक नेपालमा हुन लागेको हो । एशोसिएशनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. भूमिनन्द देवकोटा रहेका छन् । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ ।

देवकोटाका अनुसार यसअघिको नवौं महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एशोसिएशनको सचिवालय रहेको छ । एशोसिएशन सन् १९९२ मा स्थापना गरिएको हो । संसारभरिका भैंसी विज्ञको साझा संस्था इन्टरनेसनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसन अन्तर्गतको एसियाका वैज्ञानिकको संस्था एसियन बफेलो एशोसिएशन हो ।

महासभामा विश्वका २५ देशका ४०० भन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ । महासभामा भैंसीको अध्ययन, अनुसन्धान, उत्पादन, उत्पादकत्व वृद्धिमा विभिन्न देशले विकास गरेका प्रविधि र अनुभव आदानप्रदान गरिने देवकोटाले जानकारी दिए ।

नेपालले भैंसीमा गरेको विकास महासभामा प्रस्तुत गरिने छ भने अन्तर्राष्ट्रिय साझेदारसँग रैथाने भैंसीको अध्ययन, अनुसन्धान र विकासका लागि आह्वान गरिने कार्यक्रम छ । महासभाको प्रविधि व्यवस्थापन समितिका सहसंयोजक सहप्राध्यापक डा. निराजन भट्टराईका अनुसार यो कार्यक्रम नेपाली वैज्ञानिकका लागि निकै महत्त्वपूर्ण हुनेछ । यसअघि कृषि विश्वविद्यालयको अगुवाइमा अन्तर्राष्ट्रिय भैंसी समगोष्ठी गरिएको थियो । भट्टराईले सो गोष्ठीमा १५ देशका २८० जना सहभागी भएका बताए ।

विश्वमा भएका भैंसीमध्ये ९२ प्रतिशत भैंसी एसियामा पाइन्छन् । त्यसमध्ये सबैभन्दा बढी भारत, पाकिस्तान, चीन हुँदै चौथोमा नेपाल पर्दछ । नेपालमा भैंसीको संख्या ५२ लाखभन्दा बढी भएको तथ्यांक छ । भैंसी दूध र मासुका लागि महत्त्वपूर्ण मानिन्छ । रासस