काठमाडौँ – झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीती संग्रह सुनिल विमोचन भएको छ । बुधबार एक कार्यक्रमका बीच टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडियो निर्देशक भूषण दाहालले ‘सुनिल’को बिमोचन गरेका हुन् ।
पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा टेलिभिजनकर्मी दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको भएको बताए । “प्रविधिले साथ नदिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन् ।” उनले भने, “सुनिलमा संग्रहित कतिपय रेकर्ड नभएका गीत अत्याधिक सरल र कालजयी हुने गीतहरु छन् ।”
यस्तै फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यमवर्गीय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताए । यस्तै सञ्चारकर्मी सुशील अर्यालले सुनिल पहिल्यैदेखि सिर्जनशील भएकोले लामो समयदेखि स्थिर रहेको साहित्यिक यात्रा अब सुरु भएको भन्दै यो यात्रामा निरन्तर दौडन आग्रह गरे ।
सो अवसरमा सञ्चारकर्मी कोइरालालजे राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ गीतकार रत्नशमशेर थापा, संगीतकार अम्बर गुरुङ लगायतको प्रेरणबाट नै गीतिसंग्रह प्रकाशन गर्न हौसला मिलेको बताए ।
९९ गीतहरुको संग्रह रहेको गीति संग्रह स्कुल अफ लिडर्स प्रा.लि.ले प्रकाशन गरेको हो ।