पोर्चुगल– विश्वव्यापी रुपमा फैलिएको कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई राहत वितरण गरिने भएको छ । कामको शिलशिलामा पोर्चुगल पुगेका र कोभिड१९ का कारण प्रभावित भएका नेपालीललाई दोस्रो चरणको राहत वितरण गरिन लागेको हो। यसअघि कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपत्कालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन गरी पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४ सय नेपाली समुदाय लाभान्वित भएका थिए ।


ADVERTISEMENT


पोर्चुगल सरकारले तेस्रो चरणको आपत्कालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी विहिन बनेका छन् । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दिर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ ।


ADVERTISEMENT

# # #


राहत वितरण व्यवस्थित गर्न तथा कोभिड राहत वितरण समितिको सचिवालयले समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । समितिका सचिवालय सदस्य तथा प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारसहितको तथ्याङ्क सङ्कलनको सो समिति गठन गरिएको हो। उक्त समितिले वास्तविक समस्यामा रहेकाहरुलाई पहिचान गर्ने र उनीहरुको अवस्थाअनुसार राहत वितरणका लागि सिफारिस गर्ने समितिका संयोजक पौडेलले जानकारी दिए ।

हालसम्म कोभिडका कारण पोर्चुगलमा तीन नेपालीको मृत्यु भइसकेको छ । रासस