बाग्लुङ– माध्यमिक तह स्तरवृद्धिको १० वर्ष बितिसक्दा पनि विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा रहेको छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहमा हालसम्म पनि दरबन्दीविहीन अवस्थामा रहेको हो ।


ADVERTISEMENT


कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक रहेका छन् । बाँकी अन्य भने छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताइन् । न्यून तलब सुविधा दिएर राख्नुपर्ने अवस्था भएको बताउँदै उनले भनिन्; ‘अन्यत्र राम्रो अवसर आउँनासाथ शिक्षकहरु यहाँबाट विस्थापित हुन्छन् । हामीले रोकेर राख्न पनि मिलेन ।’


ADVERTISEMENT

# # #


अहिलेसम्म २०/२२ शिक्षकले विद्यालय छाडिसकेको भन्दै प्रअ थापाले अघि सुनाइन्; ‘दरबन्दी नहुँदा एकदमै समस्या छ । स्थानीय स्रोत र अभिभावकबाट चन्दा सहयोग जुटाएर खर्च धानेका छौँ ।’ स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ । आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

यस्तै, विद्यार्थी सङ्ख्या एवम् भौतिक पूर्वाधार को अवस्था राम्रो भएपनि दरबन्दी नपाएका कारण समस्यामा परेको गुनासो विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरि शर्मा आचार्यको रहेको छ । विद्यालयको भौतिक र शैक्षिक सुधारका योजनामा स्थानीयवासीले स्वतःस्फूर्त सहयोग गर्दै आएको उनले सुनाए।

शून्य दरबन्दी भएका विद्यालयले पाउने गरेको शिक्षण सहयोग अनुदानसमेत गत वर्षदेखि रोकिएपछि हाल विद्यालय थप मारमा छ । उक्त अनुदानबाट शिक्षकको तलब खर्चमा धेरथोर भरथेग हुँदै आएको थियो । यद्यपि शिक्षा शाखा प्रमुख खेम आचार्यले भने नगरभित्र शिक्षक दरबन्दी मिलानको प्रक्रिया थालिएको बताएका छन्। उनले भने; ‘विभागको कार्यविधिअनुसार दरबन्दी मिलानको तयारीमा छौँ । शून्य दरबन्दी रहेका विद्यालयको समस्या अब हल हुन्छ ।’

विद्यार्थी सङ्ख्या र भूगोल दुवैलाई आधार मानेर दरबन्दी मिलान गर्ने योजनामा नगरपालिका छ । दरबन्दी मिलानमा ढिलाइ हुँदा कुनै विद्यालयमा शिक्षक कम, विद्यार्थी बढी त कतै विद्यार्थी कम, शिक्षक बढी भएको स्थिति छ । रासस