तनहुँ– डिभिजन वन कार्यालयले छुट्टाछुट्टै मुद्दामा पाँच जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय– तनहुँले सालको चिरान काठसहित मात्रै दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आले रहेका छन् ।


ADVERTISEMENT


व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।


ADVERTISEMENT

# # #


त्यसैगरी गैँडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहादुर गुरुङ र विमल गुरुङलाई पक्राउ गरिएको छ । उक्त कार्यमा संलग्न अर्का वीरेन्द्र गुरुङ भने हालसम्म फरार रहेको उनले बताए । त्यस्तै, बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा जिल्लाको बन्दीपुर गाउँपालिका–२ ढाबटार निवारी हिमबहादुर चुमी मगर पक्राउ परेका छन् ।

निजमार्फत सालको ३८.७४ र बर्रोको ६८.९९ क्यूफिट काठ बरामद गरिएको हो । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका उनीहरुलाई वन कार्यालयको हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको जानकारी डिभिजन प्रमुख काफ्लेले दिएका छन्। रासस