काठमाडौँ – विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनायो । २०४ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको पुलिसका लागि सुरुवात नै खराब रह्यो । सुरुवाती १ रन जोड्दा नै पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको पुलिसले बाँकी १४ रन जोड्दा थप २ विकेट गुमायो । पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए ।


ADVERTISEMENT

# # #


त्यसक्रममा उनले ६१ बलमा २ चौका र १ छक्का प्रहार गरे । यस्तै राशिद खानले ५१ बलमा ३ चौका र १ छक्काको मदतमा ३४ तथा दीपेन्द्र सिंह ऐरीले ६९ बलमा २ चौकासहित ३३ रन जोडे । यस्तै अनिल कुमार शाह २१ तथा सागर ढकाल ११ रनमा आउट हुँदा पहिलो इनिङमा फिल्डिङका क्रममा घाइते भएका आरिफ शेखले अन्तिममा आएर १४ बलमा २ चौका र १ छक्का हाने पनि टिमलाई जित दिलाउन सकेनन् ।

एपीएफका लागि भुवन कार्कीले ४ विकेट लिए । कमल सिंह ऐरी, अभिनाश बोहरा र कप्तान शरद भेषावकरका नाममा समान २–२ विकेट रह्यो । यसअघि एपीएफका लागि शंकर रानाले ४४, भुवन कार्कीले ४२ र सन्दीप जोराले ३४ रन प्रहार गरे । यस्तै शुवास खकुरेल र कमल सिंह ऐरीले समान १९–१९ रन जोड्दा कप्तान शरद भेषावकरले १८ रन बनाए । पुलिसका आरिफ शेखले ३ तथा ललित राजवंशी दीपेन्द्र सिंह ऐरीका नाममा समान २–२ विकेट रह्यो ।

एपीएफले फाइनलमा बाग्मती प्रदेश र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । आजको हारसँगै दुई पटकको विजेता नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।