काठमाडौँ – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेश जोड्ने द्रूत मार्ग (फास्ट ट्रयाक) निर्माणको कार्य छैटौँ चरणमा चलिरहेको छ ।


ADVERTISEMENT


आयोजनाको डीपीआरमा ढिलाई, अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट र कोरोनाका कारण प्रभावित बनेको दूतमार्ग अयोजनाको जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनीहरुको ‘सर्टलिस्टिङ’ तथा मुल्याङ्कन कार्य सम्पन्न भएसँगै अब निर्माण कार्यले गति लिएको आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


वि.सं. २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । सोही अनुसार २०७६ भदौ १ गतेको निर्णयबाट परियोजना डीपीआर स्वीकृत भएको थियो । १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको द्रुतमार्ग आयोजनाको निर्माण कार्य आगामी तीन वर्षमा अर्थात् आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाले बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर–काठमाण्डौं–मकवानपुर–बारा) हुँदै अन्तिम बिन्दु निजगढलाई जोड्नेछ ।

पुस महिनासम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च

नेपाली सेनाका अनुसार गत आ.ब. को वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको छ । जुन समग्र प्रगतिमा भौतिक तर्फ ११.११ प्रतिशत र भने वित्तीय तर्फ ९.५२ प्रतिशत रहेको छ । ७२.५ किलोमिटर लामो द्रूत मार्ग आयोजना निर्माणमा पुस महिनासम्म १७ अर्व ८३ करोड रुपैयाँ खर्च भइसकेको छ ।

दूतमार्गको कूल लम्बाई मध्ये ३ वटा सुरुङ्ग मार्गले लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुले लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोले पुर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ कि.मी.रहेको छ ।  जस अन्तरगत आयोजनाको ४४.१ कि.मी. सडक खण्डको सबग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने–पुर्ने कार्यहरु हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ । २०७७/७८ को आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न गराई आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएको छ ।

८४ प्रतिशत जग्गाको मुआब्जा वितरण

आयोजना अन्तर्गत अधिग्रहण गर्नको लागि प्रकाशित सूचना मध्ये हालसम्म ८४ प्रतिशत जग्गाको मुआब्जा वितरण भइसकेको छ भने १६ प्रतिशत जग्गाको मुआब्जा सम्बन्धितहरुले लैजान बांकी रहेको नेपाली सेनाको भनाई छ ।

ललितपुरको खोकना क्षेत्रको द्रुतमार्ग रेखाङकनमा पर्ने जग्गा स्थानीय विवादको कारण प्राप्तिमा बाधा परेको र उक्त समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म ४४५ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।

सुरुङ्ग निर्माण अध्ययनको कार्य सुरु

आयोजनाको डिजाइन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा रहेको दक्षिण कोरियाली कम्पनी यूसिन इन्जिनियरिङ कर्पोरेसन (यूसिन जेभी)का प्रतिनिधिहरु नेपाल आएर काम सुरु गरिसकेको छ ।

सुरुङ्ग निर्माणका लागि भूभौतिक अनुसन्धानको अन्तिम रिपोर्ट प्राप्त भएको छ भने भूप्राविधिक अनुसन्धानका अन्तर्गत महादेवटार (९), धेद्रे (५) र लेनडांडा (४) गरी कुल १८ वटा ‘बोर होल्स ड्रिलिङ’ गर्ने कार्य सम्पन्न सेनाले जनाएको छ ।

सुरुङ्ग मार्ग निर्माण कार्यको लागि अन्तर्राष्ट्रिय परामर्शदाता यूसिन जेभीले सुरुङ्ग मार्ग प्याकेजको निर्माण कार्यको लागि आवश्यक बिड डकुमेन्ट (इपीसी) तयार गरी बोलपत्र आव्हान गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ ।

रुख कटान र वृक्षारोपण पनि जारी

 

आयोजना निर्माणका लागि बागदेवको मौरीभिर ईलाकामा २६७ वटारुख कटान गरिएको छ । यस्तै धेद्रे सुरुङ्ग मार्गको ‘एक्जिट पोर्टल’को लागि श्री गौरीशंकर वन उपभोक्ता समितिसंग समन्वय गरी रुख कटान कार्य शुरु गरिएको छ । जस अनुसार हालसम्म कटान गर्नु ४९० वटा मध्ये २०० वटा रुख काटिएको नेपाली सेनाले जनाएको छ ।

यस्तै रुख कटान भए अनुसार १ः२५ को अनुपातमा वृक्षारोपण कार्य गर्दै जाने योजना अनुसार चालु आ.व.को पौष महिनासम्ममा फलफूलका विरुवाहरु १९ हजार २२ र अन्य प्रजातीका विरुवाहरु १ लाख ५७ हजार ४ सय ९४ गरी जम्मा १ लाख ७६ हवार ५१६ वटा रुखहरु रोपिएको सेनाको भनाई छ ।

सबै तस्बिरहरु : नेपाली सेना