बागलुङ– तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो ।


ADVERTISEMENT


बागलुङको घोडाबाँधेदेखि ताराखोला, डुडेलेक, सोलेडाँडा, बयलधुरी, मालिका, नौदले हँदै गुर्जाघाटबाट ढोरपाटन जान झण्डै सात दिन यात्रा गर्न सकिने पदमार्गको रेखाङ्कन भएको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले चालू वर्षको कार्यक्रममा यो पदमार्गलाई गुरुयोजनामा सूचीकृत गरेको छ । तमानखोलाले चालू वर्ष यो पदमार्गको डिपिआर बनाउन बजेट विनियोजन गरेको अध्यक्ष जोकलाल बुढाले बताए ।


ADVERTISEMENT

# # #


दुई वर्षअघि सम्भाव्यता अध्ययन भइसकेकाले आन्तरिक पर्यटकले पटकपटक गरी यात्रा गरिसकेका छन् । गाईवस्तु चराउने पुराना बाटालाई मर्मत गरेर ढोरपाटनसम्म पुग्ने पदमार्ग बनाइने बुढाको भनाई छ। यस्तै, यो लेक दुई पालिकाको सिमाना हो । सोलेदेखि ढोरपाटनतर्फको खण्डमा दुईवटा बसाइ तमानखोलाले बनाउने योजना समेत रहेको जानकारी उनले दिए ।

दुई वर्षअघि ट्रेकिङ एजेन्सी एसोसिएशन (टान)ले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्गको रुट तय गरेको हो । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमी लामो पदमार्गमा ठूलो हिलेदेखि सोलेको दूरी जोड्दा झण्डै ६० किमी बन्ने योजना रहेको छ ।
ताराखोला गाउँपालिकाको ठूलो हिलेस्थित होमस्टे बसेपछि एक दिनको पैदल यात्रामा तमानखोलाको सोलेडाँडा पुगिन्छ । तर सहज यात्राका लागि सोले नपुग्दै डुँडेलेकमा एउटा बसाइ बसाल्न ताराखोलाले तयारी गरेको अध्यक्ष प्रकाश घर्तीले बताएका छन् ।

पदमार्गका लागि दुईवटा बाटो तय गरिएको छ । ताराखोलाको ठूलोहिलेदेखि एउटा र बुर्तिवाङ हुँदै तमानखोलाको बुङ्गादोभानबाट अर्को पदयात्रा गर्न सकिन्छ । जोखिम मोलेर गाडी चलाउने र करोडौँ खर्चेर पहिरो निम्त्याउनुभन्दा पदमार्गमार्फत पर्यटक भित्र्याउने योजना बनाएको स्थानीयको भनाई छ ।

पदमार्ग सञ्चालन भएपछि बागलुङ, म्याग्दी, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सकिनेछ । रासस