काठमाडौँ,
२३-असोज / राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अाज बैठक बस्न लागेकाे हाे । ११ बजे बस्ने बैठकले सरकारमा जाने बारे निर्णय लिने पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता पाठकले बताए ।
पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ । रासस