काठमाडौं ,
२४-असोज /  एक वर्षअघि महानगरीय प्रहरी अपराध महाशाखामा पुग्दा शरदकुमार गौचन ठेक्कापट्टामा गुन्डागर्दीको प्रयोग हुनेबारे चिन्तित देखिन्थे । ठेक्कामा दलीय संरक्षणमा हुर्किएका गुन्डाले भाग (पैसा) मागेर हैरान गर्ने गरेको गुनासो गर्थे गौचन । ठेक्कापट्टा गर्नेहरूबीच प्रभुत्व जमाउन खोज्नेले आफूलाई दुःख दिने गरेको गुनासो गौचनको थियो ।


ADVERTISEMENT


त्यतिबेलै प्रहरीले सहजै अनुमान लगाएको थियो, गौचन ठेक्कामा लाग्ने गुन्डा समूहबाट ‘थ्रेट’ मा थिए । उनी त्यसपछि प्रहरीमा अक्सर पुगेनन् । काठमाडौं जिल्ला अदालतको नयाँ भवन र राष्ट्रिय नाचघर गौचन संस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले निर्माण गरेको थियो । करोडौं कारोबार गर्दै आएका गौचनसँग ठेक्कापट्टाकै एउटा समूहले ठूलै आर्थिक ‘डिल’ गरेको र नदिएपछि हत्या गरेको आशंका प्रहरीको छ ।


ADVERTISEMENT

# # #


नेपाल निर्माण व्यवसायी महासंघका अध्ययक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ। सोमबार दिउँसो नयाँ बानेश्वरको खरीबोट नजिकै एक समूहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘अहिले विभिन्न अफवाह फैलिएको छ, प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन, हामी घटनाको अनुसन्धान गरिरहेका छौं।’

सोमबार दिउँसो पौने तीन बजे खरीबोट नजिकै रहेको घरबाट गौचन निस्किएका थिए। घरबाट निस्किएको केही क्षणमा नै गौचन सवार सवारीसाधनको अगाडि भागमा इँटा प्रहार गरेको र त्यसपछि २ राउन्ड गोली प्रहार गर्दा गौचनको छाती र पेटमा लागेको थियो। अत्याधुनिक पेस्तोल ६ दलमलब ६ क्यालिवरको पेस्तोल प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ।

गौचनको हत्यापछि विभिन्न समूहले उक्त हत्या आफ्नो समूहले गरेको भन्दै जिम्मेवारी लिएका छन्। हङकङमा बस्दै आएको लोप्चन लामा समूहदेखि प्रहरीको मोस्ट वान्टेट सूचीमा रहेको मनोज पुन समूहले हत्याको जिम्मेवारी दिएपछि घटना रहस्यमय बन्दै गएको एआईजी चन्दले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

चन्दले भन्नुभयो– ‘प्रहरी यो अफवाहको पछि लाग्दैन घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ, हत्यारा छिट्टै पक्राउ पर्छन्।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई मनोज पुनको समूहको सदस्य भएको दाबी गर्दै गौचनको हत्या आफ्नो समूहले गरेको भनी फोन गरेको थियो। एसएसपी धानुकले भन्नुभयो– ‘गौचन हत्याका बारेमा आफूलाई जुन फोन आयो त्यसका बारेमा समेत अनुसन्धान गरिरहेका छौं।’

गौचन हत्याको जिम्मा रमेश बाहुन समूह, समीरजंग बस्नेत समूह, लोप्चन लामा समूह, मनोज पुन समूहले जिम्मेवारी लिएपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाएको एआईजी चन्दले जानकारी दिनुभयो।

एआईजी चन्दले भन्नुभयो– ‘बजारमा जुन हल्ला आएको छ त्यस विषयमा पनि प्रहरीले अनुसन्धान गर्छ, तर हत्या किन र के कारणले भएको त्यसका बारेमा छानविन गरेर पत्ता लगाउँछ।’

‘तीन दिनअघि चन्दा माग गर्दै रमेश बाहुन समूहले गौचनलाई गाली गलौज गर्नुका साथै तीन थप्पड हानेको भन्ने कुरा आएको छ। यस विषयमा पनि हामी खोजी गरिरहेका छौं।’ –एआईजी चन्दले भन्नुभयो।

प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा तीन जनालाई म्हैपीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा रहेका छन्। उनीहरूको साथबाट एक थान पेस्तोल र ३ राउन्ड गोलीसमेत जफत गरिएको एआईजी चन्दले जानकारी दिनुभयो।

आयुक्त कार्यालयले महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीको कमान्डमा अनुसन्धान टोली गठन गरेको छ भने प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत छुट्टाछुट्टैरूपमा अनुसन्धान शुरू गरेको छ।

प्रहरीले गौचन हत्यामा संलग्न भएको व्यक्तिहरू पेसेवर अपराधी भएको र हत्याको योजना लामो समयदेखि बनाएको हुन सक्ने आशंका गरेको छ।

गौचन हत्यापछि प्रहरीले यही असोज ९ गते खुलेको १२ अर्बको हुलाकी राजमार्गको ठेक्काको रकम लेनदेनको विषयलाई समेत अनुसन्धानको दायरामा ल्याएको छ। ‘हुलाकी राजमार्गको उक्त टेन्डर मिलाएबापत डनहरूलाई दिनुपर्ने रकम गौचनले कबोल गरेको तर पैसा नदिएका कारण हत्या भएको हो कि भन्ने विषयमा हामी छानविन गरिरहेका छांै।’ –अनुसन्धानमा संलग्न एक अधिकारीले नेपाल समाचारपत्रसँग भने।

गौचनमाथि गोली प्रहार भएपछि प्रहरीले राजधानीबाट बाहिर निस्कने ६ वटै नाका सिल गर्नुका साथै राजधानीका हरेक चोक र गल्लीगल्लीमा चेकजाँचलाई कडा बनाएको थियो। प्रहरीले राजधानीबाट बाहिरिने सवारीसाधनमाथिको निगरानीलाई कडा बनाएको थियो।

उक्त घटनापछि गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अपराधीलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो।

उक्त घटनापछि गृहमन्त्री शर्मा घटनास्थल जान भन्दै सिंहदरबारबाट निस्केर नयाँ बानेश्वरतर्फ लागेको भए पनि प्रहरीले सुरक्षाका कारण देखाउँदै उहाँलाई घटनास्थल जान रोक लगाएको थियो। घटनास्थलवरपर गृहमन्त्रीविरुद्ध स्थानीयले नाराबाजीसमेत गरेका थिए।

सोमबार दिउँसो बा१३च४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई सो अज्ञात समूहले गोली प्रहार गरेपछि प्रहरीले गौचनका निजी चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार शुरूमा मुखमा माक्स लगाएका एक युवाले गौचन सवार गाडीमाथि इँटा प्रहार गरी गाडीलाई रोकाएपछि नजिकै रहेका दुई युवाले पछाडि लुकाएको पेस्तोल निकालेर गोली हाने र नजिकै रहेको मोटरसाइकल चढेर भागेका थिए।

प्रत्यक्षदर्शी सागर कार्कीका अनुसार उनीहरू गोली प्रहार गर्नासाथ गल्लीको बाटो भागेका थिए। ‘उक्त घटनापछि गौचनलाई गाडीबाट निकालेर अस्पताल पठाएका थियौं अस्पताल पुग्नासाथ उहाँको निधन भएछ।’ –कार्कीले भन्नुभयो।