काठमाडौँ – नेपालमा कृषि र यातायात क्षेत्रमा रोजगारी सिर्जनाका लागि यूकेएडले उपाय सिटी कार्गोलाई अनुदान रकम उपलब्ध गराएको छ । प्रविधिको माध्यमबाट सेवा सञ्चालन गरिरहेको उपाय कार्गोलाई यूकेएडले महिला, विदेशबाट फर्किएका कामदार, आर्थिक रूपले पछाडि परेका समूहलाई लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न उक्त अनुदान प्रदान गरेको हो ।
हाल उपायले काठमाडौँसहित बुटवल, भैरहवा र पोखरामा अनलाइनमार्फत ढुवानी सेवा प्रदान गरिरहेको छ । यातायात क्षेत्रमा काम गरिरहेको र हालै कम्पनीले खेती एपसँग सहकार्य गरी कृषिमा आधारित लजिष्टक सेवा सञ्चालन गरेकाले यूकेएडले उक्त अनुदान रकम उपलब्ध गराएको हो ।
कम्पनीले यूकेएडसँग अनुबन्धित भएपछि यातायात र कृषि क्षेत्रमा २६ सय बढीलाई रोजगारी प्रदान गर्ने योजना बनाएको कम्पनीका सह–संस्थापक अमिगो खड्काले बताए ।