हुम्ला– सडक यातायातले हालसम्म नजोडिएको हिमाली हुम्लाका स्थानीयवासीलाई हालसम्म पनि कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका २ रिपगाउँका स्थानीयलाई जोखिममा तुइन तर्नुपर्ने बाध्यता रहेको हो ।


ADVERTISEMENT


पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड २ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताए । हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराको गुनासो छ । उक्त गाउँका २ सय घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन् । घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको उनले बताए ।


ADVERTISEMENT

# # #


यस्तै, खार्पुनाथ गाउँपालिका ४ को कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ । गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको छिप्रागाउँका स्थानीयवासी बबरजङ्ग हमालले बताए। उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयवासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । उक्त तुइन तर्दा धेरै स्थानीयवासीका हातमा चोट लागेको र केही महिना अगाडि एक जना स्थानीयवासी तुइनबाट खसेर घाइते समेत भएको उनले बताए ।

खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन् ।

त्यसैगरी खार्पुनाथ २ बोक्चेगौंडा क्षेत्रमा पनि तुइनबाटै स्थानीयवासी आवतजावत गर्ने गरेका छन्। पुलको योजना परे पनि निर्माण नहुँदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । स्थानीयवासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको उनका भनाई छ ।

सरकारले तुइन विस्थापन गर्ने भनेपनि हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन् । रासस