भोजपुर– ढलको उचित व्यवस्थापन नहुँदा भोजपुर बजार क्षेत्रको पूर्व तर्फको भाग दुगन्धित बनेको छ । सेफ्टिट्याङ्कीको उचित व्यवस्थापनमा स्थानीय बजारवासीले बेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको हो ।


ADVERTISEMENT


भोजपुर नगरपालिका– ७ र ९ का करीब ५० घरबाट निस्कने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने ढलको दुर्गन्धले दैनिक जीवनयापन गर्न समस्या भएको स्थानीयवासीको गुनासो छ । दुर्गन्धका कारण घरमा बस्न सकिने अवस्था नरहेको र दुर्गन्धले घरबन्द गर्नुपर्ने अवस्था भएको भन्दै स्थानियवासी गोविन्द सुन्दास भन्छन्; ‘स्थानीय बजारवासीको लापवाहीका कारण बगेको ढलको दुर्गन्धमा कति बस्ने, कसैले चासो नै दिँदैनन् ।’


ADVERTISEMENT

# # #


एक घर एक सेफ्टिट्याङ्कीको अवधारणा अनुरुप सेफ्टिट्याङेकी राख्नुपर्ने भए पनि उक्त ५० घरको ढल एउटै सेफ्टिट्याङ्कीमा मिसाइएको छ । उक्त साँधुरो सामूहिक सेफ्टिट्याङ्कीमा जम्मा भएको फोहर पानी र दूषित वस्तु भरिएर खोल्सा हुँदै बग्न थालेपछि दुर्गन्धित बनेको हो । दुर्गन्धले सार्वजनिक पैदलबाटोमा हिँड्ने विद्यार्थी र बटुवालाई झन सास्ती दिएको छ । नाक थुनेर पनि बसि नसक्ने अवस्थाले स्वास्थ्यमा गम्भिर असर पुग्ने स्थानीयवासीको भनाई छ ।

उक्त बगिरहेको दुर्गन्धित ढल व्यवस्थापनका लागि निवेदन गरिए पनि कुनै पहल नभएको त्यहाँका स्थानीयवासी रञ्जित राईले सुनाए । उनी भन्छन्; ‘हामीले दुर्गन्ध फैलाइरहेको ढल व्यवस्थापनको विषयमा नगरपालिकामा निवेदन गरेता पनि कुनै ठोस प्रतिक्रिया आएको छैन । ढल उपभोक्ता समितिलाई पनि बोलाएर स्थलगत अध्ययन गर्दा पनि उनीहरुले वास्तै गरेनन् । अनि अहिले यस्तो अवस्था भोग्न बाध्य भएका छौँ ।’

यता नगरपालिकाले भने स्थानीय बजारवासीकै लापारवाहीका कारण दुर्गन्धको स्थिति पैदा भएको जनाएको छ । बजारवासीलाई ‘एक घर एक सेफ्टिट्याकी’ बनाउन प्रतिबद्धताका गराई दुईवर्ष अघि खुला दिशामुक्त नगर घोषणा गर्ने अभियानमा सहयोग पुर्‍याउन नगरपालिकाले सामूहिक सेफ्टिट्याकीं बनाउन सहयोग गरेको थियो ।

सो घोषणा अभियानपछि पनि स्थानीयवासीले आ–आफ्नो सेफ्टिट्याङ्की बनाउन अटेरीपन देखाएपछि यो समस्या आएको नगरपालिकाका प्रमुख कैलाशकुमार आलेको भनाई छ। उनी भन्छन्; ‘हामीले पहिल्यै प्रतिबद्धता गरायौँ । तर अहिलेसम्म एउटा सेफ्टिट्याङ्की बनाएको छैन । भएको उक्त सामूहिक सेफ्टिट्याङ्कीको पनि सदुपयोग नगर्दा दुर्गन्ध फैलिएको छ । ढल उपभोक्ता समितिकै कमजोरी छ ।’

अर्कातर्फ, यता ढल उपभोक्ता समितिले ढल व्यवस्थापनमा नगरपालिकाले वास्ता नगरेको बताएको छ । यस विषयमा बोल्दै उपभोक्ता समितिका सदस्य रामचन्द्र श्रेष्ठले भने; ‘हामीले तत्कालका लागि एक घर एक सेफ्टिट्याङ्की बनाउन नसकेपछि ढलको समस्या लिएर हामी पटकपटक नगरपालिका धायौँ । तर कुनै प्रतिक्रिया आएन । हामी पनि यो समस्या भोग्न बाध्य छौँ ।’ रासस