काठमाडौँ – राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आन्तरिक राजश्व विभागमा सरुवा गर्ने निर्णय भइनसकेको अर्थसचिव शिशिर ढुंगानाले बताएका छन् ।


ADVERTISEMENT


हिमालयपोष्टसँग कुराकानी गर्दै सचिव ढुंगानाले मैनालीलाई सरुवा गर्नेबारे हालसम्म कुनै निर्णय नभएको बताएका हुन् । ‘दीर्घजी अहिले प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागमा हुनुहुन्छ । उहाँलाई सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयको सहमति चाहिन्छ ।’ उनले भने, ‘उहाँको सरुवाबारे अर्थ मन्त्रालयबाट कुनै निर्णय भएको छैन र सहमतिका लागि सामान्य प्रशासन मन्त्रालयमा पठाइएको पनि छैन ।’


ADVERTISEMENT

# # #


विभिन्न सञ्चार माध्यमले मंगलबार साँझ महानिर्देशक मैनालीलाई आन्तरिक राजश्व विभागमा सरुवा गरिएको समाचार प्रकाशित गरेका थिए । जसलाई अर्थसचिव ढुंगानाले गलत बताएका हुन् ।

महानिर्देशक मैनालीले समेत नियुक्तिको खबर आफूले आधिकारिक रुपमा र पत्र समेत नपाएको भन्दै बाहिर आएको समाचारबारे यथार्थ यकिन गर्न आग्रह गरेका छन् ।

महानिर्देशक मैनालीले राजश्व अनुसन्धान विभागमा देखाएको अब्बल कार्यक्षमताको सर्वत्र प्रशंसा भइरहेको बेला आन्तरिक राजश्व विभागमा उनी आउने चर्चा भने चलिरहेको छ ।