दूल्लू– महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ ।


ADVERTISEMENT


नगरपालिकाका अनुसार, पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा सिकाइएको हो ।


ADVERTISEMENT

# # #


नगरपालिकाले १७ सामुदायिक विद्यालयका ६६ बालिका तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको अभियान्ता सजना सुनारले जानकारी दिए । उनका अनुसार, तालीममा बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अङ्गालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सातवटा आत्मसुरक्षाका उपाय प्रदान गरिएको थियो ।

यो तालीमबाट एक्लै हिँडडुल गर्दा कसैले जबरर्जस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय सिकाइएको र यसबाट किशोरीहरुको आत्मबल बढ्ने विश्वास लिएको उनले बताइन् ।

यस्तै, आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले पनि नगरपालिकाले स्कुले बालिका तथा किशोरीलाई लक्षित गरेर तालीम सञ्चालन गरिएको जनाएकी छिन् । पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीलाई आत्मसुरक्षाको सीप सिकाएको उनको भनाई छ । ‘बालिका तथा किशोरी आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएकाले आत्मसुरक्षाका लागि तालीम दिएका हौं; उनले भनिन् ।

आत्मरक्षा तालीम लिएका किशोरी समूहले विद्यालयका अन्य छात्रालाई पनि सिकाउने जनाइएको छ । आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको शिकार हुने हुँदा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने उद्देश्यका साथ उक्त विधि तालीममा सिकाइएको हो ।

तालीममा सहभागी किशोरीले तालीमपछि आफूहरुमा आत्मविश्वास बढेको र सुरक्षित भएको महसुस गरेको बताएका छन् । ‘तालीम अगाडि कसैले हामीलाई बलात्कार वा यौनहिंसा गर्न खोजे के गर्ने होला? भनेर चिन्ता लाग्थ्यौं । अहिले तालीम लिएपछि आत्मबल बढेको छ । हामीले बच्न तरिका पनि सिक्यौं; तालिम प्राप्त जनज्योति माविकी छात्रा निशा शाहीले भनिन् ।

यौनहिंसा तथा दुर्व्यवहारको प्रयास गरे प्रतिकार गर्न यो तालीमले आफूलाई एक्लो छैनौं भन्ने विश्वास बढाएको उनको अनुभव छ । शाही मात्र होइनन्, तालीममा सहभागी किशोरी कमला माझीको पनि उस्तै बुझाइरहेको छ । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अङ्गमा प्रहार गर्ने तालीमबाट सिकेका बताउँदै उनले भनिन्; ‘तालीम पश्चात् आत्मविश्वास बढेको छ, सुरक्षित महशुस गरेका छौ ।’

जिल्लामा ६ महिनायता सात वटा बलात्कार र यौनहिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । केही व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

आत्मसुरक्षा सीपसँगै बालिका तथा किशोरीलाई बाल अधिकारका बारेमा समेत जानकारी दिइएको छ । बाल विवाहबारे कानूनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानूनी प्रावधानका बारेमा समेत जानकारी दिइएको नगरपालिकाले जनाएको छ । रासस