डोटी– केआइसिंह गाउँपालिका वाइलमा पहिलो पटक बस सेवा पुगेको छ । गाउँपालिका केन्द्र वाइलमा पहिलो पटक चारवटा यात्रुबाहक बस पुग्दा स्थानीयवासीले खुशी साटासाट गरी रमाइलो मनाएका छन् ।


ADVERTISEMENT


जिल्ला सदरमुकाम सिलगढीबाट कम्तीमा पनि २२ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको उक्त ठाउँमा अहिलेसम्म पनि ठूलो गाडी पुगेको थिएन । सुदूरपश्चिम बस व्यवसायी समिति तथा शेलेश्वरी यातायात प्रालीले पहिलो पटक सार्वजनिक बस पु¥याएपछि स्थानीयवासीले चालकलाई खाँदा र अबीर माला लगाई बाजागाजासहित स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


गाउँपालिका केन्द्रसम्म बस पुगेपछि अब यात्रा गर्नका लागि सहज हुने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ । यसभन्दा पहिले उक्त क्षेत्रमा साना बोलेरो जीप मात्रै सञ्चालन हुँदै आएको थियो । बस पुगेसँगै यहाँका स्थानीयवासीले आपसमा नाचगान गरेर स्थानीय बासिन्दाले खुशीयाली मनाएको केआइसिंह गाउँपालिका दूल्लुका स्थानीयवासी शेरबहादुर ऐरले जानकारी दिए ।

उनले लामो समयपछि गाउँपालिकामा बस पुगेको र गाउँलेका लागि यो अत्यन्त खुशीको कुरा भएको बताएका छन् ।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुर बजारदेखि केआइसिंह गाउँपालिकाको बगरसम्म सडक कालोपत्र भएसँगै नागरिकको सहजताका लागि अहिले पालिकाको केन्द्र वायलसम्म बस सञ्चालन गरिएको शैलेश्वरीयातायात प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

अहिले केही ठाउँमा कालोपत्र पनि भएको र त्यहाँका नागरिकले बस सञ्चालनका लागि आग्रह गरेपछि उनीहरुको सहजताका लागि बस सञ्चालन गरेको कार्यालय प्रमुख रावलले बताए । अब दैनिक बस सञ्चालनको तयारी भइरहेको रावलको जानकारी रहेको छ ।

पहिलो पटक गाउँमा बस लिएर आएका शैलेश्वरी यातायात प्रालीका चालकलाई खुशी लागेपछि आफूहरूले गाडीका चालकलाई खाँदा र अबीर लगाई स्वागत गर्दै नाचगान गरेको केआइसिंह गाउँपालिकाका अर्का स्थानीयवासी लक्ष्मण पाण्डेय बताउँछन् । उनी भन्छन्; ‘कहिले बस आउला र चढौला भनेर आस गरेर बसेका थियौँ । शैलेश्वरी यातायातका चालकले बस ल्याएपछि हामी खुशी भएर स्वागत गरेका हौँ ।’

शहरबाट गाउँ र गाउँबाट शहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलो पटक गाउँमा नै गाडी पुगेकोमा यहाँका बासिन्दा अत्यन्त खुशी भएका छन् ।

उनीहरुले अब यहाँबाट नियमित बस सञ्चालन गर्न मागसमेत माग गरेका छन् । यहाँका नागरिकले विगतको समयमा सडक सुविधा भए पनि खासै गाडी नचल्ने गरेका कारण सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर र पिपल्ला बजारसम्म पुग्नको लागि पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको थियो । अहिले यात्रुबाहक बस नै पुगेपछि उनीहरुले सधैँ बस सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

केआइसिंह गाउँपालिकाबाट नियमित बस सञ्चालनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जनाएका छन् । ‘पहिलो पटक हाम्रो गाउँपालिकामा बससेवा पुगेको छ, यसको निरन्तरताका लागि गाउँपालिकाबाट पहल गर्ने छौँ; उनले भने ।

यस्तै, नियमित बस सेवा सञ्चालनका लागि गाउँपालिका केन्द्र वाइलमा टिकट काउण्टरको व्यवस्थाका लागि प्रयास भइरहेको शैलेश्वरी यातायात प्रालीका अध्यक्ष गणेश मलासीले बताएका छन् । उनका अनुसार, सबैको पहलमा बस सेवा दिन सुचारु गरिएको हो । यसका साथै टिकट काउण्टरदेपखि अन्य व्यवस्थापनका लागि पहल भइरहेको र अब नियमित बससेवा दिने प्रयासमा रहेको उनले जनाए ।

यात्रुहरुको माग तथा चापको आधारमा उक्त क्षेत्रमा थप बसको बेवस्था पनि गरिने अध्यक्ष मलासीले जानकारी दिए । रासस