काठमाडौँ– पूर्वसूचना तथा सञ्चारमन्त्रीहरुले सबै नेपालीको साझा सम्पत्ति राष्ट्रिय समाचार समिति(रासस) ले अहिलेको परिस्थितिमा स्वतन्त्र र तटस्थ भई सन्तुलित र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी अझ बढी महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


स्थापनाकालदेखि अहिलेसम्म राससबाट तथ्यमा आधारित सही समाचार सङ्कलन र सम्प्रेषण हुन्छ भन्ने आमजनतामा रहेको विश्वास र भरोसालाई कायम राख्न व्यवस्थापन र कार्यस्थलमा खटिने प्रतिनिधिले नवीनतम प्रविधिको प्रयोग गर्दै वास्तविक समाचार ठीक समयमै आफ्ना ग्राहकमार्फत पुर्‍याउन उनीहरुले सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा २०५१ सालमा गठन भएको मन्त्रिमण्डलमा सूचना तथा सञ्चारमन्त्री रहेका प्रदीपकुमार नेपालले रासस आफ्नो स्थापनाको हीरक वर्ष प्रवेश गरिरहेका सन्दर्भमा राखिएको जिज्ञासामा बदलिँदो परिस्थितिमा राससको दायित्व अहिले झन् बढेको प्रतिक्रिया दिएका छन् ।

राससले आफूमा बढेको दायित्वलाई महसूूस गर्न भने नसकिरहेको भन्दै उनले भने; ‘रासस व्यवस्थापनले मातहतका कार्यालय र समाचारदातालाई उपयुक्त वातावरण र नवीनतम प्रविधिमैत्री बनाउँदै आफना ग्राहकमार्फत सकारात्मक भाव जगाउने सन्तुुलित र तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्छ । संस्था आत्मनिर्भर हुने काममा लाग्नुपर्छ ।’

निजी क्षेत्रबाट सञ्चालित नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर मुलुकमा सरकारी सञ्चारमाध्यमका रुपमा विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति अर्थात्, रासस स्थापना भएको हो । समितिले मुलुकका सातै प्रदेश कार्यालय, केही स्थानमा रहेका जिल्ला कार्यालय र देशका सबै जिल्लामा नियुक्ति पाएका आफ्ना प्रतिनिधिमार्फत सङ्कलित समाचार ग्राहकमार्फत जनतासमक्ष सम्प्रेषण गर्दै आएको छ ।

राससका प्रतिनिधिले शहरी क्षेत्रका मात्र समसामयिक मात्र होइन, दूरदराजमा पुगी खोजी गरी ल्याएका खोजमूलक समाचार, आलेख, श्रव्यदृश्य र तस्वीर छापा, रेडियो, टेलिभिजन र पछिल्लो समय विस्तार हुँदै गएको अनलाइन सेवाका लागि महत्वपूर्ण खुराक बनिरहेको छ ।

‘रासस’ नामै काफीः पूर्वसञ्चारमन्त्री बस्नेत

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत निजी क्षेत्रका सञ्चारमाध्यमबाट आफ्नो धारणा बनाएर आउने जस्तो नभई समितिबाट सम्प्रेषित सूचना र समाचार सही हुन्छ, स्वतन्त्र हुन्छ, सरकारको भनाइसँग सम्बन्धित हुन्छ भन्ने आमनागरिकको बुझाइ रहेकाले प्रतिनिधिसभा भङ्ग भई राजनीतिक अस्थिरता बढेका बेला राससबाट सन्तुलित र तथ्यपरक समाचार सम्प्रेषित हुन सके सबैलाई आफ्नो धारणा बनाउन सजिलो हुने धारणा व्यक्त गरे ।

सबैको साझा सम्पत्ति भएकाले आमसञ्चारका माध्यम र समाचारको दुनियाँमा स्थापनाकालदेखि नै रहेको गरिमामय स्थानलाई जोगाउन सत्ता र प्रतिपक्ष राजनीतिक दलको मात्र नभई सम्पूूर्ण नेपालीले अपनत्वको अनुुभूूति गर्ने ढङ्गबाट समाचार सम्प्रेषण गर्न सुझाव दिँदै उनले भने; ‘पछिल्लो समय सरकारको गुनगान गाउनेबाहेक अरु कुराका लागि अलि नियन्त्रण गर्न खोजिएको हो कि भन्ने देखिएको छ, यदि त्यो साँचो हो भने अन्त्य हुनुपर्छ ।’

सरकारकै विरुद्धमा लेख्दा पनि आफू सञ्चारमन्त्री हुँदा कसैलाई कारवाही नगरिएको जनाउँदै पूर्वमन्त्री बस्नेतले भने; ‘नामै काफी छ, ‘राष्ट्रिय समाचार समिति’ देशभर सूचना तथा समाचार सङ्कलन गर्ने अङ्ग, संरचना र सामर्थ छ । स्वदेशी होस् वा विदेशी, सबै खालका समाचारलाई व्यवस्थित र भरपर्दो ढङ्गबाट समाचार सम्प्रेषण गर्न सक्छ भन्ने जनतामा छाप परेको छ । सरकारले दिएको सूचना कसरी गलत हुन्छ भन्ने छ तर स्वतन्त्र दृष्टिकोणबाट हेर्दा सरकारको हस्तक्षेप बढ्यो भने राससप्रतिको भरोसामा कमी आउन सक्छ ।’

पछिल्ला समय समाचार सम्प्रेषण र प्राप्त गर्ने परिस्थितिमा धेरै फरक भइसकेका अवस्थामा पुरानै संरचना, विद्वता र उपकरणले समयको गतिलाई थेग्न नसक्ने बताउँदै उनले समाचार सङ्कलन गर्नेदेखि सम्प्रेषणसम्मको अवस्थालाई अत्याधुनिक र परिष्कृत तुल्याउँदै उच्चस्तरको प्रविधिको प्रयोगमा ध्यान नपुर्‍याएमा राससले इन्टरनेट र उच्च प्रविधिसहितको २१ औँ शताब्दीको माग र चुनौतीको सामना गर्न सक्दैन भन्ने राय व्यक्त गरे ।

समाचार समिति आमसञ्चारमाध्यमको एक सहयोगी संस्था हुनाका नाताले आफ्नै प्रकाशन र प्रसारण माध्यम नहुने मात्र होइन, सम्पादकीयसमेत नलेख्ने भएकाले अरु सञ्चारगृहको तुलनामा बढी स्वतन्त्र हुन्छ भन्ने मान्यता रहिआएको छ । राससका प्रतिनिधिले देशका कुनाकाप्चामा पुगी जनचासो र मानवकल्याणसम्बन्धी घतलाग्दा र मर्मस्पर्शी समाचार सङ्कलन गरी पठाएका प्रशस्तै उदाहरण छन् ।

समितिबाट प्रवाहित सूचना तटस्थता, निष्पक्षता र तथ्यपरक ढङ्गबाट भरपर्दो र विश्वसनीय हुने भएकाले पछिल्ला समयमा छापा, रेडियो, टेलिभिजन मात्र होइन, सबै अनलाइन सेवाका लागि समाचार प्राप्त गर्ने बलियो स्रोत भएको छ । समाचार समितिको मुख्य काम भनेकै सूचनाको प्राप्ति र त्यसलाई अन्य सञ्चारमाध्यमलाई प्रवाह गर्नु हो ।

खारिएका र व्यावसायिक पत्रकारको संस्थाः पूर्व सञ्चारमन्त्री गुप्ता

पूर्वसूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले खारिएका र व्यावसायिक पत्रकारको संस्थाका रुपमा रहेको राससको अहिलेको अवस्थामा भूूमिका अझ बढेको उल्लेख गरेका छन् । मुलुकमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र वस्तुुनिष्ठ समाचार सम्प्रेणको नेतृत्व राससबाट हुँदै आएको बताृउँदै उनले भने; ‘कहिलेकाहीँ सरकारको दवाव आउन सक्छ तर त्यस्तो परिस्थितिमा पनि राससले आमजनताको हित र मनसाय बुुझी सन्तुुलित र वस्तुुनिष्ठ समाचार सम्प्रेषण गर्न सक्नुपर्छ ।’

अर्थाभावका करण संस्थाको कामकाजका लागि सजिलो होस्, भनी निर्माण गरिएका कतिपय स्थानका भवन भाडामा दिएर खर्च जुटाउनु परेको परिस्थितिप्रति पूर्वमन्त्री गुप्ताले सहानुभूति प्रकट समेत गरे ।

उनले भने; ‘राससको समग्र श्रीवृद्धिका लागि विगतमा आफूले पनि भरमग्दुर प्रयास गरेको, व्यावसायिक र स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा अप्ठेरो स्थिति खडा हुनुहुुन्न भन्नेमा पनि आफू सधैँ सजग र सचेत रहेको थिएँ । राससलाई प्रविधिमैत्री बनाउने कुुरामा सरकारले विशेष ध्यान पु¥याउनपर्छ, सहयोग गर्नुपर्छ ।’

राससप्रति जनताको ठूलो आशा एवं भरोसा रहेको र आमनेपाली जनताको सूचना प्राप्त गर्ने साझा सम्पत्ति भएकाले यसको सुदृढीकरण र विकासमा राज्यले विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको उनको धारणा थियो । रासस