काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गृह मन्त्रालयले बनाएको सुरक्षा कार्ययोजना ज्यादै उपयोगी र व्यावहारिक रहेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


आयोगमा आज बसेको निर्वाचनका सन्दर्भमा गठिन उच्चस्तरीय सुरक्षा समितिको बैठकमा स्थानीय तहका तीनै चरणको निर्वाचनको अनुभवका आधारमा मन्त्रालयले तयार गरेको सुरक्षा योजनामाथि छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने जानकारी गराएका छन् ।

प्रतिनिधि सभा र प्रदेश भाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैपटक हुनेछ । हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते तथा अरु पहाडी र तराई मधेशका ४५ जिल्लामा मंसिर २१ निर्वाचन हुँदैछ ।

बैठकमा आयोगका तर्फबाट म्यादी प्रहरीको उपदायता र संख्याका बारेमा जिज्ञासा राख्नुका साथै निर्वाचनमा विभिन्न पक्षको स्वार्थ गाँसिने हुनाले सुरक्षा संयन्त्रबीच समन्वय र सहकार्य कायम गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सुझावसमेत प्रस्तुत गरिएको थियो ।

आगामी निर्वाचनमा राष्ट्रिय नेताहरुबीच समेत प्रतिस्पर्धा हुने भएकाले उहाँहरुको सुरक्षाको आवश्यक व्यवस्था मिलाई स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माणका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन आवश्यक रहेको विषयमा पनि आयोगका तर्फबाट सुझाव प्रस्तुत भएको थियो ।

बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन सुरक्षा कार्ययोजनामा समेटिका विषयवस्तुका बारेमा विस्तृतरुपमा छलफल भएको जानकारी दिए ।

सुरक्षा कार्ययोजनामा सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको पहिचान, मतदान र मतगणना स्थलको सुरक्षाका अतिरिक्त दलका नेता, उम्मेदवार, मतदाता र निर्वाचन पर्यवेक्षकको सुरक्षालगायतका विषयवस्तु समेटिएको पनि उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो–‘‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखमा आइसकेका छौँ । हामी निर्वाचनका लागि आवश्यक सबै तयारी गरेर अघि बढिसकेका छौँ । यही असोज २९ गते राजनीतिक दलहरुको बन्दसूची पेश गर्ने कार्यक्रम छ, त्यसैले आयोगले सुरक्षा तयारीबारे छलफल गरेको हो ।’’

अवैध मदिरा उत्पादन तथा बिक्री तथा हातहतियारको प्रदर्शन तथा प्रयोगमा नियन्त्रण एवं निषेध गर्नेजस्ता कार्यमा विशेष चनाखो हुन सुझाव दिँदै मतदान हुने केही दिन अघिदेखि नै सुरक्षा जाँचलाई कडा तुल्याउन आयोगका तर्फबाट सल्लाह दिइएको थियो ।

उनले राष्ट्रिय राजनीतिक वातावरण केही परिवर्तन नभएको हुँदा निर्वाचनबारे ढुक्क रहन आग्रह गरे ।

आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलबीच हुनसक्ने अस्वस्थ्य प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिन सक्ने तथा जातीय र साम्प्रदायिक सद्भाव कायम राख्न पनि सुरक्षा निकायले चनाखो बन्नुपर्नेमा जोड दिए ।

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सुरक्षा निकायबीच उच्चस्तरको समन्वयको खाँचो औँल्याए। नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महतले निर्वाचनमा आवश्यक सुरक्षा गर्नै तथा नेपाली सेना मातहतका साधानको प्रयोग गर्न तयार रहेको बताए।

बैठकमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, रक्षा सचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको सहभागिता थियो ।