एक दशक बढी समयदेखि अष्ट्रेलियामा बस्दै आएका झापा कनकाई नगरपालिका–७, दुर्गापुरका दिनेशकुमार पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।


ADVERTISEMENT


बुधबार सम्पन्न समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि समाजको संस्थापक सदस्य थिए ।


ADVERTISEMENT

# # #


झापाली समाज अष्ट्रेलियाको संस्थापक अध्यक्ष र हाल संरक्षकसमेत रहेका पोखरेलले एनआरएन अष्ट्रेलियाको प्रवक्ता र उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । अध्यक्षमा सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले झापाको समृद्धि र दिगो विकासका लागि समाजले काम गर्ने बताए ।

समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा चयन भएका छन् । उपाध्यक्षहरुमा मध्यपूर्वका दिपकप्रसाद ओली, युरोपका ललितकुमार न्यौपाने, अष्ट्रेलियाका रुपराज मैनाली, अमेरिकाका प्रमोद सिटौला, कोरियाका राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन् ।महासचिवमा मध्यपूर्वका रोहितकुमार भण्डारी, सचिवमा भुपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएका छन् ।

सदस्यहरुमा युएईका जगन्नाथ लुइँटेल, युकेकी रोमिया लिम्बू, इजरालयकी सावित्रा लुइँटेल घिमिरे र हङकङका हेमकुमार लावती रहेका छन् । अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १ सय ५० बढी झापालीको सहभागिता थियो ।

करिब ८ महिना अगाडि बिर्तामोड घर भई अष्टे«लिया निवासी भवानी ओलीको संयोजकत्वमा अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति गठन भएको थियो । संयोजक ओलीको अध्यक्षतामा बुधबार भएको अधिवेशनको खुलासत्र प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले विश्वभरका झापालीहरु अन्तर्राष्ट्रिय झापाली समाजमा संगठित हुनु झापाको विकासका लागि आशालाग्दो विषय भएको बताए ।