काठमाडौं – समाज सेवाका मोडल शिवप्रसाद ढकालका लागि मृत्युपर्यन्त पनि सन्ततीहरुले अमर बनाउने गरी कर्मलाई निरन्तरता दिएका छन् । एसएसपी भीमप्रसाद ढकाल र एसपी प्रभु ढकालका पिता समेत रहेका समाजसेवी स्वर्गीय ढकालको नाममा सिताराम–पदमकुमारी फाउन्डेसन दर्ता गरिएको छ ।


ADVERTISEMENT


‘बुवाको स्थूल शरीर हामीसँग नभएपनि हामी उहाँलाई अमर बनाउछौं’ एसएसपी ढकालले भने ‘बुवाको सामाजिक कामलाई निरन्तरता दिँदै अघि बढ्ने मानवताको अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’


ADVERTISEMENT

# # #


ढकालले गरेका समाज सेवाका कामहरुलाई निरन्तरता दिन बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फाउन्डेसन दर्ता भएको हो ।

“हामी छोराछोरी र बुहारीहरुले बुबाआमाको नाममा फाउन्डेसन बनाएर अक्षय कोष समेत छुट्याइ उहाँले गर्दै आएका सामाजिक कार्यलाई अगाडि बढाउछौं” एसएसपी ढकालले हिमालयपोष्टसँग भने, “फाउन्डेसन मार्फत पिताजी सँधै हामीसँगै भईरहेको अनुभूति गरिरहन चाहन्छौं ।”

स्व. ढकालले आफ्नो जीवनमा जन्मस्थान भोजपुरदेखि काठमाडौंसम्म र देशैभरी नै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका थिए । त्यसैगरी जेष्ठ नागरिकको हक हितका लागि बिगत १ दशकदेखि अग्रज समाज नेपालको बरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत रहि लगातार ७ वर्षसम्म जेष्ठ नागरिक आन्दोलनको नेतृत्व समेत गरे । सो आन्दोलनले नै जेष्ठ नागरिक भत्ता ३ हजार पूर्याउने, सवारीसाधनमा आरक्षण सिट र भाडा छुटको व्यवस्था मिलाउने, जेष्ठ नागरिक परिचय कार्डको सुरूवात गर्न सरकारलाई बाध्य बनाएको थियो ।

भोजपुर चरम्वीको ‘अरुणोदय मावि’ स्थापनाकर्ता समेत रहेका उनलाई त्यस क्षेत्रमा हरेक विकास निर्माण र समाज सेवाका काममा सबैले सम्झने गर्छन । अरुणोदयका प्रधानाध्यापक देबी भक्त पराजुली ढकालको देन नभएको भए उक्त बिद्यालय बन्न सम्भब नरहेको भन्दै शिक्षा क्षेत्र तर्फको योगदान प्रष्ट पार्छन ।

जीवनको करिब तीस वर्ष भोजपुरको समाज सेवामा खर्चिएका उनले बाँकी बीस वर्ष जीवन काठमाडौंको कोटेश्वरमा आइ समाज सेवामै बिताए । कोटेश्वर क्षेत्रमा बाटो निर्माण, ढल निर्माण, खानेपानी व्यवस्था, सरसफाइ लगायत हरेक क्षेत्रमा ढकालले गरेको अगुवाइ त्यस क्षेत्रका बासिन्दाहरुले मुक्त कण्ठले प्रशंसा गर्छन् । स्थानीय अगुवा धनपती सापकोटा भन्छन्, “ढकालबाको निधनले कोटेश्वर सहयोगी नगर टोल नै स्तब्ध भएको छ ।”

भोजपुर ढकाल समाजलाई जन्माउने र लगातार तेस्रो पटकसम्म नेतृत्व गरेर समाज सेवामा सक्रिय बनाउने काममा समेत स्वर्गीय ढकालको अगुवाई रह्यो ।

साना बालबच्चा युवाबृृद्ध सबैसँग मिल्न सक्ने, कसैसँग नबिझाउने सबैको हित चिताउने फरासिला जुझारु र फूर्ति स्वभावका ढकालले केही वर्ष अगाडि नेपाली टेली चलचित्र ‘चेतना’मा समेत अभिनय गरेका थिए ।

समाज सेवाको मोडलकै रुपमा चिनिने ढकाललाई भोजपुरदेखि काठमाडौंसम्मका विभिन्न संघसंस्थाहरुले सम्मान एवं प्रशंसा पत्र प्रदान गरेका छन् ।

पारिवारिक श्रोतका अनुसार उनको स्मृतिमा कोष खडा गरे लगत्तै भोजपुरको अरुण गाउँपालिकाका तीनवटा विद्यालयहरुमा एसईई परीक्षामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । यस्तै, भोजपुर ढकाल समाज अन्तर्गत एसईई परीक्षामा उत्कृष्ट हुने समेतलाई पुरस्कृत गरिने जनाईएको छ । कोटेश्वर स्थित स्थानीय टोल सुधारका लागि काम गर्ने देखि जेष्ठ नागरिकहरुको सेवाका लागि समेत विभिन्न गतिविधिहरु सञ्चालन गर्ने एसएसपी ढकालले जानकारी दिए ।

२००१ साल साउन २३ गते जन्मिएका समाजसेवी ढकालको गत पौष २० गते कोटेश्वर स्थित निवासमा ७७ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय ढकालका श्रीमती पदम कुमारी ढकालसँगै छोराहरु एसएसपी भीम ढकाल, भैरव ढकाल, एसपी प्रभु ढकाल र छोरीहरु तुलसा ढकाल, सञ्जु ढकाल रहेका छन् ।

स्वर्गीय ढकालले हरेक भेटघाटमा ‘ॐ नम शिवाय’ भन्ने गरेकै सम्झनामा फाउन्डेसनको लोगो नै कमलको फूलमा ॐ नम शिवाय राखिएको छ ।

सिताराम पदमकुमारी फाउन्डेसनका पदाधिकारीहरू:

अध्यक्ष : विश्वमणी गौतम
उपाध्यक्ष : विप्लभ ढकाल
सचिव : राजेन्द्र ढकाल
कोषाध्यक्ष : रञ्जना उप्रेती
सदस्यहरू : विष्णुप्रसाद ढकाल, बिन्दु अधिकारी, चण्डी ढकाल, प्रेमकला डाँगी, हरेराम ढकाल

यस्ता छन् फाउन्डेसनका उद्देश्यहरू :

– मानवीय सहयोगका क्षेत्रमा विविध क्रियाकलाप सञ्चालन गर्ने,
– मुनाफारहित जनहितकारी कार्य गर्ने,
– शैक्षिक क्षेत्रमा अध्ययन अनुसन्धानका साथै विपन्न गरिव असहाय, फरक क्षमता भएकाहरूलाई प्रोत्साहन र सहयोग गर्ने,
– जेष्ठ नागरिक, महिला, बालबालिकालाई सहयोग गर्ने तथा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने,
– जेष्ठ नागरिकका लागि वृद्दाश्रम स्थापना गर्ने,
– युवा लक्षित सीपमूलक तालिम, खेलकुद, लेख रचना प्रकाशन र स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने,
– स्वास्थ्य क्षेत्रमा सहयोग गर्न स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, शववाहन सेवा सञ्चालन गर्ने,
– कृषि क्षेत्रमा गरिब किसानलाई अर्गानिक खेतिमा प्रोत्साहन गर्दै सहयोग गर्ने,
– अचानक आईलाग्ने प्रकोपहरू जस्तै बाढि, पहिरो, आगलागी लगायतमा सहयोग गर्ने,
– मठ मन्दिर सरसफाई, निर्माण सुधार तथा पुजापाठ गर्ने,
– वातावरण जोगाउन सचेतना जगाउँदै बृक्षारोपण अभियान सञ्चालन गर्ने ।