काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्माओलीको राजीनामा माग गरेका छन् ।


ADVERTISEMENT


सर्वोच्चले संसद पुनर्स्थापना गर्ने फैसला गरेसँगै चितवनमा आयोजिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले तत्काल नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले चालेको कदमले २ महिना नेपाली जनताले ठूलो पीडा व्यहोर्नु परेको बताउँदै उनले भने, ‘यदि तपाईंमा अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुहोस् ।’


ADVERTISEMENT

# # #


अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी थियो । उनले सर्वोच्चको फैसलाले सम्पूर्ण नेपालीको जित भएको बताए । उनले भने, ‘यो फैसला सम्पूर्ण नेपाली जनताको जितको फैसला हो । हार्दिक बधाई भन्न चाहन्छु ।’ प्रचण्डले फैसला गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लगायत संवैधानिक इजसालका न्यायाधीशलाई धन्यवाद दिँदै भने, ‘यो उहाँहरुको ऐतिहासिक र साहसिक फैसला हो । यो निर्णयको इतिहासले सम्मान गर्नेछ ।’

कुर्सीका निम्ति आफूहरुले नलडेको बताउँदै प्रचण्डले राजनीतिक दलहरुसँगको सहमतिका आधारमा अघि बढ्ने बताएका छन् । ‘यो संविधान, गणतन्त्रको रक्षाका निम्ति लडाईं हो भनेर हामीले भनेका थियौँ । हामीले जनताको अघि जे भनेका थियौँ, त्यही अनुसार पार्टीसँग समझदारी गरेर अघि बढ्छौँ ।’

सेटिङ भइसकेकाले संसद विघटन सदर हुन्छ भनेर प्रधानमन्त्री ओलीको पक्षमा लागेका सांसदलाई पनि आफ्नो पक्षमा फर्किन आग्रह गरे । ‘उनले भने, ‘आउनुहोस्, मूलपार्टीमा हामी स्वागत गर्न तयार छौँ । अब केपी ओलीको भुलभुलैयामा बस्ने समय छैन । संविधान र लोकतन्त्रको पक्षमा आउनु होस् ।’

सम्बन्धित समाचार
– सर्वोच्चको फैसला : प्रधानमन्त्रीको कदम असंवैधानिक, प्रतिनिधिसभा पुनर्स्थापना
– १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश
– यस्तो छ प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
– सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गर्‍यो : कांग्रेस