झापा – नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रू. २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ ।

विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उनको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गरेका थिए ।


ADVERTISEMENT

# # #


हाल झापा, मोरङ र सुनसरीमा करीब ७०० हेक्टरमा रबरको खेती भइरहेको छ । रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन् ।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरीद गर्ने जानकारी दिएको छ । उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ ।

किसानबाट खरीद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए । नेपालमा सयौँको संख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ । हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए ।

दुई महीनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए । विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ । पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ ।

बिरुवा रोपेर उत्पादन हुने रबर प्राकृतिक हुने भएको हुँदा यसको विश्वभरि उच्च माग छ । यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ । नेपालले बर्सेनि अर्बौंको रबर आयात गर्दै आएको छ ।

तर रबर खेती र यसमा आधारित उद्योग खुल्दै जाने हो भने ठूलो मात्रामा आयात प्रतिस्थापित हुने सम्भावना रहेको छ । गर्मी क्षेत्रमा रबरको बोट हुर्किन्छ । यसको फेदबाट दूधजस्तो चोप निकालेर संकलन गरिने र संकलित चोपलाई प्रशोधन गर्दा प्राकृतिक रबर उत्पादन हुने गर्दछ ।

नेपालमा गोरखकाली रबर उद्योगले झापामा उत्पादित केही रबर विगतदेखि खरीद गर्दै आएको थियो तर उद्योग नै धराशायी बनेपछि किसानले रबरका पाप्रा बनाएर भारतमा बेच्दै आएका थिए । कनकाई रबर इन्डस्ट्रिजले अब किसानले बगानमै उत्पादन गरेको कच्चा चोप खरीद गरी लैजाने भएको छ । झापामा उत्पादन हुने सबै चोप खरिद गरिने उद्योगका सञ्चालक सापकोटाले बताए ।

झापामा सामुदायिक बन, एग्रो फरेस्ट्रीलगायतका संस्थाले धेरै जग्गामा रबर खेती गरेका छन् भने करेसाबारीमा १० बोटदेखि दशौँ बिघा जग्गामा हजारौँ बोट रबर हुर्काउने किसानको संख्या झापामा सयौँ रहेको छ ।

किसानले खेती नहुने पाखो र बगर जग्गामा रबर लगाएर प्रति बिघा रू. चार लाखसम्म वर्षेनी आम्दानी गर्दै आएका छन् । रबरको चोप मात्र नभएर यसका दाउरा र काठ महँगोमा विक्री हुने गरेको छ भने रबर खेती लगाएको स्थानमा मौरीपालन फस्टाउने गर्दछ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नं ८ लाई रबर ग्राम घोषणा गर्दै नमूना रबर खेतीका लागि सहयोग पुर्‍याउने भएको छ । एग्रो टुरिज्मको अवधारणाबमोजिम बुद्धशान्तिमा नमूनाको रुपमा रबर ग्राम परियोजना शुरु गरिएको रबर ग्रामका सचिव सीताराम बाँस्तोलाले बताए ।

रबर बोटमा फल्छ भन्ने हेर्नका लागिसमेत रबर ग्राममा पर्यटक आकर्षित हुने सम्भावनालाई मध्यनजर गरेर घरबास सञ्चालनका लागिसमेत फाउन्डेसनले पहल गर्ने भएको छ । झापाको बाह्रदशीमा समेत अर्को रबर उद्योग स्थापनाको तयारी भइरहेको छ । रासस

प्रतिकृया

प्रतिकृया