काठमाडौं – लघुवित्त सँस्थाहरूमा अग्रणी छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड प्रविधिको प्रयोगमा समेत पहिलो बनेको छ । शनिवार गभर्नर महाप्रसाद अधिकारीले छिमेकका सदस्यहरूलाई क्युआर कोड सहितको परिचयपत्र वितरण गरेसँगै डिजिटल सेवामा छिमेक लघुवित्तको छलाङ भएको हो ।


ADVERTISEMENT


योसँगै लघुवित्तको क्षेत्रमा नै पहिलो पटक छिमेकले प्रविधिमैत्री सेवाको शुभारम्भ गरेको छ । गभर्नर अधिकारीले छिमेकले सुरू गरेको ईसेवा मार्फत सदस्यहरूले किस्ता र बचतको कारोबार गर्ने सेवाको समेत शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT

# # #


छिमेकका अनुसार ग्राहकहरूलाई क्युआर कोड सहितको परिचय पत्र दिईनेछ र सोही परिचयपत्रमा रहेको क्युआर कोडलाई ईसेवा एप्लिकेसनका माध्यमबाट स्क्यान गरी किस्ता र बचत रकम सजिलै तिर्न सकिने गरि सेवालाई प्रविधिमैत्री बनाईएको छ ।

गरिव तथा बिपन्नहरूको समृद्धिका लागि विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरूमार्फत आफ्ना सदस्यहरूलाई चेतनशील बनाईरहेको छिमेकले सोका लागि डिजिटल बस’ समेत सञ्चालनमा ल्याएको छ । गभर्नर अधिकारीले वित्तीय साक्षरताका लागि प्रविधिमैत्री घुम्ती बस सेवाको समेत उद्घाटन गरेका छन् । सो बस मार्फत देशभरी रहेका सदस्यहरूलाई उनीहरूकै ठाउमा मेचि महाकाली पुगेर तालिम तथा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिने छिमेकले जनाएको छ ।

वित्तीय साक्षरताको अभियानमा समेत अग्रणी मानिने छिमेकले आफ्ना कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै दूर दराजमा रहेका गरिब तथा बिपन्नहरूको घरदैलो सम्म नै पुगेर समृद्धिको बिगुल फुक्नका लागि घुम्ति बस सेवा सञ्चालनमा ल्याईएको जनाईएको छ । मेची देखि महाकाली सम्म रहेका आफ्ना शाखा कार्यालयहरू अन्तर्गत रहेका हजारौं सदस्यहरूलाई प्रविधिमैत्री घुम्ती बसका माध्यमबाट बित्तीय रूपमा साक्षर बनाउने यात्रा अघि बढाईएको छिमेकको भनाई छ । सोबाट वित्तीय पहुँच कम भएका दूर्गम ग्रामीण क्षेत्रहरूमा बित्तीय साक्षरता कार्यक्रमको सञ्चालन तथा बिस्तारमा ब्यापकता ल्याउने बताईएको छ ।

प्रबिधिमा जोड दिन आफूले जोड दिएको विषयलाई छोटो समयमा नै अग्रगामी रूपमा पालना गरेको भन्दै गभर्नर अधिकारीले छिमेकलाई धन्यबाद दिएका छन् । प्रविधिमा गएपछि यसको सजिलो प्रयोगका विषयमा समेत सदस्यहरूलाई थप शिक्षित बनाउँदै अघि बढ्न समेत उनको सुझाव छ । गभर्नर अधिकारीले गरिव तथा विपन्नहरूको जीवनस्तर उकास्न छिमेकले खेलिरहेको भूमिकाबाट आफू खुसी रहेको समेत उनले बताएका छन् ।

यस्तै सो अवसरमा छिमेकका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्माले सँस्थाको वर्तमान अवस्था तथा भावि योजनाका विषयमा जानकारी गराएका छन् । उनले समयको माग अनुसार बिना झन्झट गरीब तथा बिपन्नहरूलाई प्रविधिमैत्री लघुवित्त सेवा दिन छिमेक प्रतिबद्ध रहेको बताए ।

संस्थाका अध्यक्ष ऋषिराज जोशीले छिमेकको अभियान र कार्यक्रम सफल बनाउन साथ दिने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको ईजाजत प्राप्त गरि २०५८ देखि हालसम्म ६७ जिल्लामा १ सय ३७ शाखा तथा ६० डिजिटल प्वाईन्ट कार्यालयहरू मार्फत करिब ३ लाख ८० हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा पूर्याउँदै छिमेकले लघुवित्त क्षेत्रमा रहेको आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै आएको छ ।