फुङ्लिङ– नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हो।
यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिएका छन् । गाउँपालिकाका आठ वडामा आठ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजारका साथ रनिङ कप, दोस्रो हुनेलाई रु. ३० हजार, तेस्रो हुने टोलीलाई रु. २० हजार र सान्त्वना पुरस्कारवापत रु. १० हजार प्रदान गर्ने उनले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु. पाँच हजार, उदयीमान खेलाडीलाई रु. तीन हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. एक हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जनाएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा रु. २५ हजारका दरले रकम उपलब्ध गराइएको छ ।
यही १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङ्लिङ उपप्रमुख बमबहादुर भट्टराईले प्रतियोगिताका विजेताले रु. दुई लाख २१ हजार १०० का साथ रनिङ कप पाउने जानकारी दिए । उपविजेता टोलीले रु. एक लाख ११ हजार १०० का साथ कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही रु. ३३ हजारसहित कप प्रदान गरिने छ । रासस