बलेवा– नेपाल शिक्षक सङ्घले पालिकास्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्नेका पर्यटकीय क्षेत्र रोज्यो । राष्ट्रिय युवा सङ्घ र नेपाल तरुण दलको भेला पनि जैमिनीकै हाँडीकोटमा भए ।


ADVERTISEMENT


सदरमुकामकै अमर आदर्श माविको शैक्षिक भ्रमण टोलीले यस वर्ष ढोरपाटनलाई प्रमुख गन्तव्य बनायो । गलकोट दरबार र टेउवास्थित अन्तर्राष्ट्रिय मूर्तिकला केन्द्र र गाईघाट झरना पुगेर टोलीले भ्रमण गरेको थियो । यी त उदाहरणमात्रै हुन् । पछिल्लो समय आन्तरिक पर्यटनका लागि बागलुङ प्राथमिकतामा पर्न थालेको छ । ‘पहिला घुम्न पोखरा जान्थ्यौँ, अहिले कालिका र पञ्चकोट हेर्न पोखराका धेरै मानिस आउन थालेका छन्; बागलुङ पर्यटन समितिका अध्यक्ष राजु खड्का भन्छन्; ‘हाम्रा क्षेत्रले पनि पर्यटक आकर्षण गर्न सक्छन् भन्ने देखाउन पायौँ ।’


ADVERTISEMENT

# # #


कोरोना महामारीका कारण विदेशी पर्यटक आउन सक्ने अवस्था छैन । यसअवधिमा बागलुङ आएका आन्तरिक पर्यटकले आम्दानीमात्रै नभई पर्यटकीय क्षेत्रको प्रचारसमेत भएको छ । कोरोना सङ्क्रमण हटेको र लकडाउन खुला भएको अवसरमा अघिल्लो महिना होटल सङ्घ बागलुङले आन्तरिक पर्यटन प्रवर्धनका लागि बागलुङदेखि ढोरपाटन, गाईघाट, घुम्टेलगायतका स्थानमा मोटरसाइकल यात्रासमेत गरायो । तत्काल विदेशी पर्यटक नआउने अवस्था भएकाले जिल्लाभित्रै घुम्ने संस्कृतिको विकास गरिएको अध्यक्ष निलेस राजभण्डारीले बताए ।

‘गाउँघरकै वातावरणमा घुम्न पाइने, जैविक खाना र ग्रामीण बस्तीलाई प्रवर्धन गर्ने लक्ष्यमा साथ दियौँ; राजभण्डारीले भने ‘व्यवसाय बढाउने नयाँ तरिका पनि बनायौँ ।’ जिल्लाभित्रका गन्तव्य बढाउन र प्रचार गर्न बागलुङ पर्यटन समितिले प्याकेजका कार्यक्रमसमेत बनाएको छ । सदरमुकाम नजिकै रहेको पञ्चकोटमा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक पुग्छन् । त्यहाँ पुग्ने पर्यटक धेरै घुम्नकै लागि पुगेको पाइन्छ भने केही समूह सङ्गठन र संस्थाले बैठकका लागिसमेत पञ्चकोट रोज्ने गरेका छन् ।

बागलुङमा पछिल्लो पटक निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको बाङ्गेचौर अदुवारी संसारकै लामो झोलुङ्गे पुलको क्षेत्रसमेत रोजाइमा पर्न थालेको छ । कोभिड–१९ त्रास केही कम भएपछि सीमित सदस्य सङ्ख्या लिएर वनभोजमा निस्किएको अखिल नेपाल महिला सङ्घले पुल छेवैमा बसेर आफ्नो भेलासमेत सम्पन्न गर्यो । ‘होटल रेष्टुराँका हलमा भेला गर्दा हुने खर्चको बचत हुने, हाम्रो दायित्व पनि हो नयाँ गन्तव्यको प्रचार गर्नु हो; पर्यटकीय ठाउँको प्रचार सङ्घमा आबद्ध महिला नेत्री ललिता थापाले भनिन्। रासस