काठमाडौँ – नेपाल उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना (पोखरा, भैरहवा र निजगढ)का लागि प्रमुखको भूमिका प्रदीप अधिकारीलाई कार्यभार दिएको छ । विमानस्थलको गुरुयोजना निर्माण परामर्शदाता छनोटमा ‘एरोडरोम सेफ्टी स्ट्यान्डर्डस डिपार्टमेन्ट’मा दरबन्दी रहे पनि शक्तिकेन्द्र धाएर राष्ट्रिय गौरव आयोजनाको प्रमुखका रुपमा काजमा रहेका प्रदीप अधिकारीकै संलग्नतामा अनियमितता भएको आरोप उनलाई छ ।


ADVERTISEMENT


गुरुयोजना निर्माणका लागि भएको प्राविधिक छनोटमा कार्यालयको मापदण्ड अनुसार उच्च मूल्याङ्कन पाएको कम्पनीलाई पाखा लगाएर प्रमुख अधिकारीले कम मूल्याङ्कन भएको कम्पनीलाई छनोट गरेको पाईएको थियो । सो क्रममा उनले ठूलै आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी समेत परेको छ । गत माघ ७ गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ‘सी ०२२५८९’ रहेको छ । उनले छनोटको अन्तिम चरणमा ७७ अंक पाएको नेको पुमोरीलाई छाडेर ५७ अंक मात्र पाएको सीजीलाई छनोट गरेका थिए । यद्यपि, उनले आफूमाथि लागेको यो आरोप मिथ्या भएको बताइरहेका छन् ।


ADVERTISEMENT

# # #


उनकै जिम्मेवारीमा रहेको अर्को विमानस्थल निर्माणमा पनि आर्थिक चलखेल गर्न मिल्ने गरी १२ अर्ब अनुमान लागत बढाएर निर्माण कार्य अघि बढाउन लागिएको छ । भैरहवा विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि ९ अर्ब लाग्ने अनुमान गरिएको थियो । तर भवनको डिजाइन नै बदलेर लागत २१ अर्ब पुर्याएर ठेक्का लगाउने तयारी गरिएको बाहिरिएको छ । राज्यलाई थप १२ अर्ब भार पुग्ने गरी ठेक्का लगाउने तयारी गरिएको प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ ।

उनले पुरानो डिजाइन नै परिवर्तन गरेर नयाँ नक्साको डिजाइन गराएको स्रोतले बताएको छ । अधिकारीलाई दुई वर्ष अघि निर्माण भएको भैरहवाको कार्गो भवनमा पनि आर्थिक चलखेल गरेको आरोप लागेको थियो । उनले ६४ करोड प्रस्ताव गर्ने कम्पनीलाई छाडेर ८० करोड प्रस्ताव गर्ने कम्पनीलाई कार्गो निर्माणको ठेक्का दिएका थिए ।