टीकापुर– संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएकी छिन् । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त समेत गरेकी छिन् ।
एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको उल्लेख गरिन्।
यस्तै, अधिकारकर्मी कमला केसीले छोरीलाई कन्यादान गरेर दिने चलन गलत भएको बताइन् । अंश र बंश दुवै रहेको छोरीलाई दान गरेर दिने प्रचलन गलत रहेको बताउँदे उनले भनिन्; ‘अहिले आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ, विकल्प नदेखेर महिलाले आत्महत्या गर्छ, यसलाई रोक्न छोरीमाथि भइरहेको अत्याचार रोक्न छोरीलाई बलियो बनाउन आवश्यक छ ।’
महिला नेत्री कमला शाहीले भने हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्नुपर्ने आवश्यकतातर्फ औल्याएकी छिन् । ‘पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइन्छ; उनले भनिन्; ‘हामीले कति दिन दिएको मात्र खाने ? अब हामी बलियो बन्न आवश्यक छ ।’
महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा प्राध्यापक कलावती स्वाँरले जन्मिँदा एउटै प्रकृति र पीडा भोगेर जन्मिएका छोराछोरीबीच विभेद गर्नु गलत रहेको बताइन् । ‘छोरा रातिसम्म नआउँदा पनि सोधिन्न, छोरीलाई ६ः०० बजेपछि घर बाहिर जान छुट छैन । छोरालाई छाडा नबनाएको भए छोरी बलात्कृत हुने थिएनन् ।’
पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाको भने, समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने भनाई रहेको छ । ‘तपाईहरु कति जनाले छोराछोरी दुवैलाई बराबरी काम र अवसर दिनुभएको छ? प्रश्न गर्दै देवकोटाले अघि भनिन्; ‘जन्मदेखि नै छोरीलाई गरिने विभेद अन्त्य गर्न महिला, पुरुष दुवै सचेत हुन जरुरी छ ।’
सामाजिक अभियानकर्मी निर्मला कडायतले महिलालाई ३३ प्रतिशत व्यवस्था संविधानले गरेकै भए पनि राजनीतिक दलले व्यवहारिकरुपमा महिलालाई अवसर दिने कुरा व्यवहारमा उतार्न नसकेको बताइन् । महिला पढेलेखे पनि स्वतन्त्र नभएको भन्दै उनले भनिन्; ‘चरालाई पनि स्वतन्त्रता चाहिन्छ भने हामी मानिस हौँ । हामीलाई सरकारले पनि ठगेको छ, पुरुष नेतृत्वले पनि ठगिरहेका छन् ।’ रासस