रुपन्देही– नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई समेत आग्रह गरेका छन् । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन; कार्यक्रममा उनले भनेका छन्; ‘त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’

कार्यक्रमको सोहि अवसरमा बोल्दै उनले पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको  समेत जनाएका छन् । यद्यपि यसका लागि भने उनले यस विरुद्ध सङ्घर्ष गरिने उल्लेख गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने; ‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ ।’

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।

सो अवसरमा काङ्ग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको धारणा व्यक्त गरेका थिए । ‘अहिले मुलुकमा दुई राजनीतिक धार देखिएका छन् । एउटाले संविधानको रक्षा गर्न चाहन्छ, अर्कोले उल्टाउन चाहन्छ; संसदीय दलका प्रमुख सचेतक खाँणले भने; ‘तर संविधान कसैले च्यातेर च्यातिँदैन । जसले च्यात्न खोज्छ, उही समाप्त हुन्छ ।’ खाँणले बहुदलीयताको मान्यतालाई स्वीकार गरी संविधानको रक्षाका लागि सबै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका सञ्चारकर्मीलाई गोलबन्द गर्दै मिडियामा समावेशिताका विषय अघि बढाउन सङ्घको आवश्यकता रहेको बताए । समारोहमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वाध्यक्ष बालकृष्ण चापागाईँ, पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीलगायतले आमसञ्चारकर्मीको एकता र क्रियाशीलताले नै सञ्चार क्षेत्रमा आइपर्ने चुनौती सामना गर्न सहज हुने धारणा राखे ।

कार्यक्रमअघि बुटवलको पुष्पलालपार्कबाट शुरु भएको बाजागाजासहितको पदयात्रा नगरका विभिन्न भाग हुँदै कार्यक्रमस्थलमा पुगेको थियो । दुई दिनसम्म चल्ने दलित पत्रकार सङ्घको महाधिवेशनमा नेतृत्व चयन हुने छ । रासस