वाग्मती– प्रदेशको राजधानी हेटौँडामा पछिल्लो पटक माग अनुसार खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सजिलो भएको छ ।


ADVERTISEMENT


हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार, पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका १ सामरी खोला नजिकै समवेल (इनार जस्तै पानी सङ्कलन गर्ने प्रविधि) निर्माणभएपछि खानेपानी आपूर्ति थप सहज भएको हो ।


ADVERTISEMENT

# # #


बोर्डले सामरी खोलामा कूल रु. एक करोड १५ लाखको लगानीमा समवेल निर्माण गरेको हो । उक्त समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरु गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिएका छन् ।

नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक तीन पटक पानी वितरण गर्न शुरु गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानले जनाए । समवेलबाट हेटौँडा उपमहानगरपालिका– २, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक तीन पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको छ ।

समवेल निमार्णअगावै दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग छ । अझै पनि बोर्डको विस्तारित कार्य क्षेत्र उपमहानगरपालिका– १ को नकौडी, १६ को आकाशधारा, १७ को दुर्गम क्षेत्र, १५ को चिप्लेटी, १८ को दुर्गम क्षेत्र र १९ को बाँसपानी क्षेत्र अझै पनि पर्याप्त मात्रमा खानेपानी आपूर्ति हुन सकेको छैन ।

साविकको नेपाल खानेपानी संस्थान हेटौँडा शाखा २०७७ जेठ ८ गते हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको थियो । रासस