बहराइन– बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गर्दैछन् ।
बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल हिडेँको जानकारी दिएका हुन् ।
नेपाली समय अनुसार, उक्त आरोहण टोली आज १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ ।
टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिएका छन् ।
राजदूत सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेको पछिल्ला प्रयासहरुबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गरेका छन् । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।
टोलीले गत असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो ।