पाकिस्तानको एक विश्वविद्यालयले दुई विद्यार्थी(छात्र र छात्रा)लाई निष्कासित गरेको छ ।
सामाजिक सञ्जालमा विद्यार्थीले प्रेम प्रस्ताव राखेको र अंकमाल गरेको भिडियो भाइरल भएपछि विश्वविद्यालयले उनीहरूलाई कारबाही स्वरुप विश्वविद्यालयबाट नै निष्कासित गरेको हो ।
प्रेम प्रताव राख्दै अंकमाल गरेका उनीहरुको चिडियो सार्वजनिक भएपछि लाहोर विश्वविद्यालयको शुक्रबार बसेको विशेष अनुशासन समितिको बैठकले प्रेमी छात्र र छात्रालाई निष्कासित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । विद्यार्थीहरूले गलत व्यवहार गर्दै नियम उल्लंघन गरेको विश्वविद्यालयको आरोप छ । अनुशासन समितिले हाल उनीहरूलाई विश्वविद्यालयको परिसरमा आउन समेत प्रतिबन्ध लगाएको छ ।
निष्कासित गर्नुअघि उनीहरूलाई अनुशासन समितिको शुक्रबारको बैठकमा बोलाइए पनि उनीहरू बैठकमा उपस्थित भने भएका थिएनन् ।
भिडियोमा एक युवतीले युवकलाई सबैको अगाडि गुलाबको फूलसहित प्रेमप्रस्ताव राख्छिन् । युवकले प्रेम प्रस्ताव स्वीकार गर्दै युवतीलाई अंकमाल गर्छन् ।
उनीहरूको यो गतिविधिलाई छेउमा रहेका विद्यार्थीहरूले भने पुर्णसमर्थन गरी मोबाइलमा कैद गर्दै गरेको दृश्य भिडियोमा देख्न सकिन्छ ।
एजेन्सी ।