काठमाडौँ – नेकपा एमालेका माधव कुमार नेपाल समूका नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई धम्कीको भाषा प्रयोग नगर्न सुझाव दिएका छन् ।


ADVERTISEMENT


मंगरबार माधव समूहको भोलि र पर्सीका लागि तय भएको राष्ट्रिय कार्यकर्ता भेलाका बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले कारबाही गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अहंकारपूर्ण रहेको र आफूहरु जस्तोसुकै कारबाहीका लागि लामवद्ध भएको भन्दै आवेग र उत्तेजनामा नआउन सुझाएका हुन् ।


ADVERTISEMENT

# # #


‘हामी कारबाही खानका लागि एकपछि अर्को गर्दै लामवद्ध छौँ । यसमा हामीलाई कुनै पश्चाताप हुनेछैन ।’ उनले भने, ‘किनभने हामी मुलुकको लागि, लोकतन्त्रको लागि, संविधानको लागि, पार्टीको रक्षाका लागि हिंडेका मानिस हौँ । त्यसकारण तपाईंले गर्ने कारबाहीका लागि हामी लामवद्ध छौँ ।’

प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा माधव पक्षहरु नआएको भन्दै आक्रोश पोखेका थिए भने भोलि गर्ने भेलामा नजर लगाउने र सहभागी हुनेलाई कारबाही गर्ने कारबाही गर्ने चेतावनी दिएका थिए ।

उक्त कुराको जवाफ नेता भट्टराईले दिएका हुन् । बुद्धको देशका शक्तिको नभई शान्तिको भाषा हुने भन्दै उनले बालुवाटारमा प्रधानमन्त्रीको भाष शक्तिको भाषा भएको बताए । उनले भने, ‘यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मैँले अर्को पनि सुनेँ, भालिको भेलामा नजर लगाउने आफ्ना अनुयायीहरुलाई भन्नु भएको रहेछ । उहाँको तर्फबाट को को नजर लगाउन आउनुहुन्छ, परिचयसहित आए हुन्छ ।’

उत्तर कोरियाली सर्वोच्चनेता किम जोन उनकी बहिनीले अमेरिकी राष्ट्रपतिलाई ह्वाइट हाउसमा चार वर्ष शान्तिका साथ बस्न मन भए बारुदको गन्ध नफैलाउन चेतावनी दिएको उल्लेख गर्दै उनले ओलीलाई पनि बालुवाटारमा चैनका साथ बस्न मन भए बारुदको गन्ध नफैलाउन सुझाए ।

उनले भने, ‘म पार्टीको तर्फबाट र एउटा प्रतिनिधिसभाको सदस्यको तर्फबाट प्रधानमन्त्रीलाई भन्न चाहन्छु, अब तपाईंको कार्यकाल दुई वर्ष बाँकी छ । दुई वर्ष बालुवाटार चैनका साथ बस्नुहोस्, यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईंलाई कहीँ पनि पुर्‍याउँदैन ।’

इतिहासले पार्टीलाई ओलीको हातमा सुम्पिएको बताउँदै उनले भने, ‘हामी आशा गर्छौं कि तपाईंको हातबाट यो पार्टी क्षतविच्छेद हुने छैन र आउने पुस्ताका लागि यो पार्टी सकुसल हस्तान्तरण हुनेछ ।’

उनले भोलि र पर्सी हुने राष्ट्रिय भेलामा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरे ।