काठमाडौँ– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ ।


ADVERTISEMENT


संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समितिले न्याय परिषदद्वारा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


आज बसेको समितिको बैठकले न्यायाधीशमा सिफारिस व्यक्तिहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाण खुलाएर १० दिनभित्र सूचना वा उजुरी दिन सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

न्यायाधीश चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुर्खेतमा मुख्य न्यायाधीश हुन् । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनीहरुलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।

उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुुभव, विषयवस्तुुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुर्‍याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको परिषद्ले जनाएको छ ।

समितिले प्राप्त उजूरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ । रासस