काठमाडौँ – काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सुरक्षित एवं व्यवस्थित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयंसेवक परिचालनलाई निरन्तरता दिने भएको छ । स्वयंसेवक ट्राफिकलाई नियमितता दिने क्रममा महाशाखाले सोमवारदेखि थप ९५ स्वयंसेवक परिचालन गरेको छ ।


ADVERTISEMENT


महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी थप ९५ जना विद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिई सोमवारदेखि नै परिचालन गरेको हो । सवारीसाधनको चाप हुने विभिन्न चोक र जेब्राक्रसमा उनीहरुलाई १० दिनका लागि परिचालन गरिएको हो ।


ADVERTISEMENT

# # #


यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रवाह गर्ने महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले बताए । उनले सवारी चाप र पैदलयात्रुको भीड नियन्त्रणमा स्वयंसेवक परिचालन गरिदै आएकोमा यात्रुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न स्वयंसेवकले सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

महाशाखाले हालसम्म ६१९ ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण दिई परिचालन गरेकोमा दैनिक ५७ स्वयंसेवकले काठमाडौँ उपत्यकामा काम गर्दै आएका छन् । आगामी दिनमा पनि स्वयंसेवक परिचालनलाई निरन्तरता दिने महाशाखाले जनाएको छ ।