पथरी, मोरङ– अन्न नखाइ कोही मानिस बाँच्न सक्छ रु भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ?


ADVERTISEMENT


तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उनी सात वर्षको उमेरदेखि अन्न नखाइ बाँचेका छन् ।


ADVERTISEMENT

# # #


उनले सात वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म कन्दमुल (सक्खरखण्ड, तरुल, आलु आदि) मात्र खाए । त्यसपछि कन्दमुल पनि छाडेर स्याउ मात्र खान थाले । उनले सातबर्षको उमेरदेखि नै नुन तेल पनि नखाएको उनका छोरा शिव भटृराईले जानकारी दिए । उनले सातवर्षकै उमेरदेखि आफ्नै ज्ञानले व्रतको रुपमा नै अन्न र नुन छाडेको छोरा शिवले जानकारी दिए ।

उनी विगत ६६ वर्षदेखि हालसम्म प्रत्येक दिन बिहान माता भगवतीको पूजाआजा पछि उसिनेको दुईवटा स्याउ खान्छन् र मध्यान्ह १२ देखि १ बजेको समयमा कैलो रङको गाईको मात्रै एक गिलास दूध पिउँछन्। त्यसपछि फेरि बेलुका पूजाआजा पछि उसिनेको स्याउ खान्छन् । उनको प्रत्येक दिन नियमितरुपमा स्याउ र एक गिलास दूध पिएरै चल्ने गरेको छ ।

छिमेकी पुष्पराज आचार्यका अनुसार उमेरले ८२ पुगे पनि जीवनाथ खेती गर्ने बेलामा खेतमा आली लगाउने, बीउ काड्नेजस्ता काम समेत गर्दै आएका छन्।

उनी भन्छन्, “घर र खेतबारीको सबै काम गर्दै आएको छु मलाई खासै समस्या भएको छैन । उहाँको १० कट्ठा खेत छ । उहाँले मौसमअनुसार धान, मकै, तोरीलगायतका बाली लगाउने गर्नुहुन्छ । उहाँले आफ्नै घरमा एउटा भगवतीको मान्दिर स्थापना गर्नुभएको छ । उहाँले विगत केही वर्षदेखि अखण्ड दीप बाल्दै आउनुभएको छ ।’’

सो मन्दिरमा नौरथा, मंसिरे पूर्णिमा, वैशाखे पूर्णिमा, जनैपूर्णिमामा मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छिमेकी लवराज आचार्यले बताए।

भुल्के, भोजपुरमा जन्मिएका उनी भट्टराई कुलविकास प्रतिष्ठान, गोठगाउँको संस्थापक अध्यक्ष पनि हुन् ।

उनका तीन छोरा र एक छोरी छन् । उनी अरु तन्नेरीभन्दा कम हुनुहुन्न । युवाले जस्तै खेतबारीको काम गर्छन् भने शारीरिक रुपमा समेत निक्कै तन्दुरुस्त देखिन्छन् ।गोपाल प्रसाद पोखरेल/रासस