काठमाडौँ – टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको रिहाईको माग गर्दै टीकापुर राजबन्दी रिहाई राष्ट्रिय अभियानको टोलीले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेको छ ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अभियानले प्रधानमन्त्री ओलीलाई टीकापुर घटना राष्ट्रिय घटना भएकाले कुनै समुदाय विशेषसँग जोडेर मात्र हेर्न नमिल्ने भन्दै न्याय पाउनु पर्ने माग गरेको हो । सो अवसरमा अभियानले निर्दोष मानिसहरुलाई फसाइएकाले न्याय पाउनु पर्छ भनेर गत तीन महिनामा गरेको क्रियाकलापहरुको जानकारी गराउँदै संकलन गरेको विभिन्न तथ्य र प्रमाणहरुको दस्तावेजसमेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT

# # #


दस्तावेज बुझ्दै प्रधानमन्त्री ओलीले दोषीलाई उन्मुक्ति दिने कार्य नहुने तर निर्दोषलाई सजाय नहोस भन्नेमा आफ्नो सहयोग र प्रयास रहने विश्वास दिलाएको अभियानका अगुवा डा. सुरेन्द्र झाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले टीकापुर घटना दुःखद रहेको एवं थारूहरुलाई बदनाम गराउने दुष्प्रयासले गराएको समेत बताएको उनले बताए ।

प्रधानमन्त्री ओलीले टीकापुर घटनाका असली दोषी आफूलाई थाहा भएको र सत्यतथ्य बाहिर छिटै आउने कुरामा विश्वस्त रहन आग्रह समेत गरेको झाले दाबी गरे । न्यायालयमाथि पूर्ण विश्वास रहेकोसमेत बताउँदै प्रधानमन्त्री ओलीले अभियानले सङ्कलन गरेको तथ्य र प्रमाणहरु सहयोगी हुने बताए । झाका अनुसार प्रधानमन्त्री ओलीले हिंसालाई स्वीकार गर्न नसक्ने र शान्तिपूर्ण ढंगले आफ्नो कुरा राख्न पाउने लोकतान्त्रिक अधिकारलाई आफूले उच्च प्राथमिक्तामा राखेको बताए ।

अभियानले न्याय पाउन बिलम्ब नहोस भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । बालुवाटारमा करिब डेढ घण्टा भएको छलफलमा अभियानको तर्फबाट संयोजक सुरेन्द्र चौधरी, भुवनेश्वर चौधरी तथा डा. सुरेन्द्र झा सहभागी थिए ।