काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सेवाग्राहीलाई सेवा नदिए पनि जरिवाना गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)प्रति आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सेवा नदिँदा पनि सेवाग्राहीसँग शुल्क नलिन निर्देशन दिए । सेवा दिन नसक्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सेवाग्राहीलाई उल्टै दण्डित गरेको सुन्दा आफूलाई अचम्म लागेको बताए ।


ADVERTISEMENT

# # #


‘काठमाडौँ महानगरका मेयरले कतिपय महत्वपूर्ण कुरा उठाउनु भएको छ । जहाँ सेवाग्राहीले सेवा प्राप्त गरेको छैन, प्राप्त नगरेको सेवामा शुल्क, अझ त्यसमा पनि जरिवाना लाग्ने स्थिति भन्ने मैँले सुनेँ ।’ उनले भने, ‘म आफै पनि अचम्म गरेको छु । जसले सेवा नै प्राप्त गरेको छैन, सेवा नै नपाइकन शुल्क तिर्नुपर्ने ? यो हुनै सक्दैन । भएको छ भने सच्याइनेछ ।’

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वर्षौंदेखि पानी नदिए पनि शुल्क र जरिवाना लिएको बताएका थिए । उनले भने, ‘वर्षौंसम्म पनि कतिपय महानगरवासीका घरमा पानीको थोपा झरेको छैन । तर, आज पनि केयुकेएलले शुल्क लिने र जरिवाना ठोक्ने काम गरिरहेको छ ।’

उनले सेवा नदिएको ठाउँमा शुल्क नमिल्ने र त्यसमा जरिवाना गर्न झन नमिल्ने भन्दै विभिन्न निकायलाई निर्देशन दिए । उनले भने, ‘कमजोरी सरकारको, आफ्नो कमजोरीको कारणले सरकारले सेवा उपलब्ध गराउन सक्दैन, सेवा पुर्याउन नसकेकोमा सेवाग्राहीसँग क्षमायाचना गर्नुपर्ने ठाउँमा उल्टै दण्डित गर्ने किमार्थ उचित हुँदैन ।’