पर्वत– कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् ।


ADVERTISEMENT


नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।


ADVERTISEMENT

# # #


सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।

सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ ।

नगरको सहायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जानकारी दिए । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताएका छन् ।

‘किसानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ’, सापकोटाले भने, ‘यस वर्ष भुरा वितरण गरेका छौँ ।’ किसान उत्साही भएर माछापालनमा लागेको उनको भनाई छ । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वितरण गरेको छ ।

मागका आधारमा २५ हजार माछाका भुरा वितरण गरिएकोमा किसानले ५०० देखि पाँच हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यवसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताइन् ।

क्षेत्रीले छ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएकी छिन् । उनले आफूसँग छ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिइन् । ‘लकडाउनको बेला मैले रु. डेढ लाखको माछा बेँचे । बजारको माग धान्नै मुस्किल छ’, उनले भनिन् । मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् ।

नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालनलाई आगामी वर्ष थप बढाउने सोच रहेको बताएका छन् । उपयुक्त हावापानी र राम्रो बजार रहेको हुनाले नगरपालिका माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको उनले सुनाए । रासस