रञ्जीता अधिकारी, देउखुरी– चर्काे घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा–समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आएकी छिन् । साठी वर्षीया वलीले अझैसम्म आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाइ राखेकी छिन्। श्रीमानले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन शुरु भएको उनी बताउँछिन् ।


ADVERTISEMENT


दाङको देउखुरी क्षेत्र बाह्रै महिना मकैखेती हुने क्षेत्र हो । यस्तै उनी त्यहाँ मकै व्यापार पनि बाहृै महिना गर्छिन् । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उनले स्नाइन् । ‘मेरो सहारा भनेको त्यही एउटा छोरो हो । दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन ।’ खुइया गर्दै उनले भनिन्, ‘ गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।’


ADVERTISEMENT

# # #


उनीबिहान किसानले बेच्न ल्याएको मकै खरीद गरेर बेलुकासम्म बेच्छिन् । पोलेको एउटा मकै रु २५ मा बिक्री हुन्छ भने काँचो मकै बेच्दा रु २० मा बिक्री गर्दा दिनमा १०० वटा जति मकै बिक्री हुने गरेको उनको अनुभव छ ।

यस्तै, घोराही उपमहानगरपालिका–१८ निवासी भीमीदेवी मल्लको पनि कथा फरक छैन । उनी सडकको किनारामा मकै पोलेर आफ्नो दैनिकी चलाउछिन् । उनी तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको अवस्थामा भेटिन्छिन् । उमेर ७१ वर्ष भयो तर पनि दुःखले उनलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर उनी आफ्नो आफ्नो गुजरा चलाइ रोखकी छिन् । आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई चार रुपैयाँले खर्च चलाएको उनले बताइन् । बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकै पोल्ने गरेको उनको भनाई छ ।

मकै पोलेर आएको पैसाबाट उनी घर खर्च र बिरामीले थला परेका श्रीमानको उपचार खर्च चलाउँछिन् । उनका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण थलिएका छन् । हातगोडा चल्दैनन् । काम गर्न सक्दैनन् त्यसैले दिनरात विछ्यौनामा ढलिरहन्छन् । श्रीमानको औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउँछिन् । उनका दुई छोरा र एक छोरी छन् ।

गत वर्ष कोरोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ । ‘कोरोनाको डर पनि लागेन, भोकले मर्नुभन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर बेच्न थाले’, उनले विस्तार लगाइन्, ‘दिनमा ३०/४० घोगा मकै पोलेर बेच्ने गरेको छु, एउटा मकै १५ देखि २० रुपैयाँमा बिक्री हुन्छ । राम्रोसँग मकै चपाउने आफ्ना दाँत छैनन्, अरुलाई खुवाएर आफ्नो पेट पाल्न सजिलो भएको छ ।’

अलि रात पर्‍यो भने आँखाले नदेख्ने भएकाले, झिसमिसे साँझमै घरमा पुग्नुपर्ने उनले सुनाइन् । ‘दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ । दिनभरि घरमा एक्लै छोडेको श्रीमानकोस्याहारमा जुट्नुपर्छ’, भन्दै उनले अघि थपिन्, ‘उता श्रीमान् भोकाएर मेरै बाटो कुरेर बसेका हुन्छन् । कहिले खाना बनाउन जाँगर लाग्छ र पकाउँछु, जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउने गर्छु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।’

यता लमही नगरपालिका–६ की ३५ वर्षीय रुपा भण्डारीले भने लमही भालुवाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो । लमहीमा मकै सधैँ सहजैरुपमा पाइन्छ । पूर्वपश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैँ गाडी रोकेर मकै किन्न आउने गरेको उनको भनाई छ । घरमा कमाउने कोही छैन, साँझ÷बिहान खानाको समस्या हुने गरेको छ’, रुपा भन्छिन्, ‘दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु ।’

लमही बजारमा मकैको राम्रो व्यापार हुने गरेको र मकै बेचेको पैसाबाट चार जनाको परिवार पालिएको उनले बताइन् । उनका अनुसार, दैनिक रु. ४०० देखि ७०० सम्म आम्दानी हुने गरेको छ। बिहान ९ बजेदेखि मकैको व्यापार शुरु गर्ने उनी गर्मीमा तातो घाम, वर्षाको झरीको कुनै प्रवाह नगरी मकै बिक्री गर्ने गरेकी छिन् । अन्य काम गर्नुभन्दा मकै पोलेर बेच्ने काम सजिलो लागेर यता लागेको उनले बताइन् ।

घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले सङ्घर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको सङ्ख्या धेरै छ ।

पोलेको मकै खाँदा स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक तथा पोषणयुक्त हुन्छ । यसमा प्रोटिन तथा कार्बोहाइडे«ट जस्ता पौष्टिक तत्व पाइने चिकित्सकको भनाइ छ । मकैमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन क्रियालाई सन्तुलित बनाउने गरेको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेण्ट डा. मीनचन्द्र अधिकारीले जानकारी दिए ।

उनी भन्छन्, ‘मकैले कोलेस्टोरको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ । पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ, स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।’

लमही नगरपालिका उपप्रमुख देवका बेलवासेले भने सडक छेउमा व्यापार गर्नेलाई व्यवस्थित गर्ने कामको थालनी गरिएको बताएका छन् । सबैले व्यापार गरेर खानलाई सजिलो होस् भनेर सुरक्षित तरिकाको बस्ने ठाउँको बन्दोबस्ती नगरपालिकाले गरेको उनको भनाइृ छ । ‘गरिखाने वर्गलाई लक्षित गरेर व्यापार गर्ने ठाउँको व्यवस्था गरेका छौँ । लमहीमा महिला पुरुष दुवै जनाले विभिन्न व्यापार गर्नुभएको छ, गरिखानलाई नगरपालिकाले व्यवस्थित ठाउँको प्रबन्ध गरेका छौँ’, उनले भने ।