– सिताराम दाहाल, नेता, नेकपा (एमाले)

आज नेपालको कम्युनिस्ट पार्टी स्थापना भएको दिन । कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउने हाम्रा ५ जना संस्थापक नेताहरुलाई हृदयदेखि नै सम्झिन चाहन्छु । उहाँहरुले देखाएको बाटोमा नेपाली कम्युनिस्ट पार्टीहरु केही हदसम्म हिंडेको अवस्था थियो । तर, २०१७ सालदेखि हेर्ने हो भने कम्युनिस्ट पार्टीहरु विभाजनबाट गुज्रिँदै आएको अवस्था थियो । ०६२ सालको जनआन्दोलनपश्चात कम्युनिस्ट पार्टीहरुको एउटा मोर्चा बन्यो । हामी २०७०/७४ मा आइपुग्दा एउटा मोर्चा बनाउन सफल भयौँ र नेकमा माओवादी पनि त्यो मोर्चामा सामेल भयो ।


ADVERTISEMENT


हिजो पुष्पलालले देख्नुभएको योजना, भविष्य वास्तवमा दुईवटा ठूला कम्युनिस्ट एक भएर पूरा हुने चरणमा थियो । कम्युनिस्ट पार्टीमा लागिसकेपछि आफ्नो स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ । माथि उठ्न सकेन भने कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिँदैन । कम्युनिस्ट आन्दोलनलाई जोगाउने नाममा हामी अहिले कता कता रुमल्लिएको अवस्था छ । यसलाई चिरफार गरेर नेतृत्व जानुपर्छ । दुईवटा कम्युनिस्ट पार्टी एक भइसकेको अवस्थालाई हेरेर विश्लेषण गर्ने हो भने त्यो आफैमा सुखद थियो । तर, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले पार्टी एकता कानुन बमोजिम छैन र पूर्वावस्थामा फर्किनुपर्छ भनेपछि त्यसलाई हामीले मान्नै पर्छ ।


ADVERTISEMENT

# # #


यद्दपी नेकपा माओवादी केन्द्र र नेकपा एमाले आ–आफ्नो लाइनमा लागिसकेका छन् । यस्तो अवस्थामा नेतृत्वहरुले सम्झिनु पर्ने र बुझ्नुपर्ने कुराहरु छन् । हामी २०७५ जेठ ३ मा फर्किसकेपछि हिजो एमालेको नावौँ महाधिवेशनले दिएको म्याण्डेट अनुसार नै शीर्षस्थ नेताहरु चल्नुपर्ने देखिन्छ । यो बीचमा केही कमी कमजोरी रहेको पनि देखिन्छ । वास्तवमा काम गर्नेले कमी कमजोरी गर्छ नै । त्यसलाई सच्याउँदै जाने कुरा हुन्छ ।

आज कम्युनिस्ट पार्टी स्थापना दिवस भएको हिसाबले पनि हामीले के मान्नुपर्छ भने हिजो पुष्पलालले देख्नु भएको जुन सपना छ, संस्थापक ५ जना नेता कम्रेडले देख्नुभएको सपना छ, त्यसलाई साकार पार्ने हो भने आजैका दिनदेखि नेकपा एमालेका शीर्षस्थ नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपालले कार्यकर्तालाई एउटै मालामा उनेर राख्न चुकेको जस्तो देखिन्छ ।

एमाले पार्टी नेपाल कम्युनिस्ट पार्टीको मूल प्रवाह हो । यो विभाजन हुनुहुँदैन । नेताहरुले आ–आफ्नो ठाउँमा भएका कमीकमजोरीहरुको आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी कार्यकर्ताको भावना अनुसार पार्टी एकतालाई कायम राख्नुपर्छ ।

हिजो बुधबार देखि सुरु भएको दुइ शीर्षस्थ नेताहरुबीचको संवादले आम कार्यकर्ताहरुको भावनालाई आत्मसाथ गर्दै सिँगो पार्टी एकताबद्ध रुपमा अघि बढ्ने गरी अघि बढाउन एकढिक्का बनाउने गरी निष्कर्ष निस्कनेछ भन्नेमा हामी आशाबादी छौं । यो सकारात्मक निकासको सुखद सँकेत हो भन्ने हाम्रो बुझाई छ ।

हामीले पार्टी कार्यकर्ता र जनताको भावना बुझ्न सकेनौँ भने राजनीति गर्नुको अर्थ रहँदैन ।

महाधिवेशनबाट निर्वाचित अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्रीले यो बीचमा जति खालका विग्रहहरु देखिए त्यसबारे स्पष्टिकरण सोध्नुलाई मिलन बिन्दुको रुपमा हेरिनु पर्छ । स्पष्टिकरण दिने नेताहरुले पार्टीमा देखिएका समस्याहरुको पनि स्पष्ट दृष्टिकोण राखेर पार्टीलाई फूटबाट जोगाउनुपर्छ भन्ने मलाई लाग्छ । केपी ओली, माधव नेपालजस्ता नेताहरुले अरु पार्टीतर्फ हेर्नुभन्दा पनि आफ्नो पार्टी जोगाउनतर्फ ध्यान दिनुपर्छ । अन्य पार्टीसँगको सहकार्यको कुरा त्यसपछि खोज्ने हो ।

शीर्षस्थ नेताहरुले विभाजनको पक्षमा हुनुहुन्छ कि एकताको पक्षमा हुनुहुन्छ भन्ने स्पष्ट सन्देश आम कार्यकर्ता र जनतासमक्ष पुर्याउनु पर्छ । वास्तवमा सच्चा पार्टी कार्यकर्ता विभाजनको पक्षमा छन् भन्ने मलाई लाग्दैन । त्यसकारण सर्वप्रथम पार्टी कार्यकर्ताको भावना बुझ्नुपर्छ । त्यसपछि मात्रै आफ्नो बाटो स्पष्ट गर्नुपर्छ । जनताको आशा भरोसा भनेको शीर्ष नेता नै हो । उहाँहरुले कम्युनिस्ट आन्दोलनलाई दूरगामी असर पार्ने कुनै अप्रिय निर्णय लिनु हुँदैन ।

पार्टीभित्र विभिन्न व्यक्तिका विभिन्न स्वार्थले काम गरेका पनि होलान् । तर, कम्युनिस्ट पार्टीको सदस्य हो भने त्यो स्वार्थ त्याग्नुपर्यो । स्वार्थ त्याग नै समाधानको मूख्य विषय हुनसक्छ । पार्टीलाई एक ढिक्का बनाउनका लागि दुबै समूहका नेताहरुले त्यो स्वार्थ त्याग्नुपर्छ ।

पार्टी विभाजन भइसकेको होइन, विभाजन उन्मुख हो । त्यसमा विभिन्न मान्छेहरुले पार्टी एकता नगराउने खेलहरु खेलिरहेका हुनसक्छन् । त्यसमा नेताहरु सचेत हुनुुहुन्छ भन्ने मलाई लाग्छ । पार्टी विभाजन गर्दा कम्युनिस्ट आन्दोलनको भविष्य समाप्त हुने, नेपाली जनताको सपना समाप्त हुने र आम ८ लाख भन्दा बढी संगठित सदस्यको सपना चकनाचुर हुन्छ । त्यसमा शीर्षस्थ नेताहरुले गम्भीर विचार पुर्याउनु पर्छ । पार्टी एकढिक्का बनाएर जाने हो भने कम्युनिस्ट आन्दोलनको भविष्य पनि राम्रो हुन्छ । शीर्षस्थ नेताहरुले गल्ती भएको छ भने त्यसलाई सच्याउने र आत्मालोचना गर्नुपर्छ । कमजोरी भएका विषयमा आत्माआलोचना गर्दा कसैको पनि उचाईं घट्दैन । यसर्थ; नेकपा एमाले फुट्दैन र फुट्नु पनि  हुँदैन ।