राँझा– बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शैय्या अभाव भएको छ ।


ADVERTISEMENT


अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको हो ।


ADVERTISEMENT

# # #


भेरी अस्पतालमा अहिले एउटा शैय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताएका छन्।

उनका अनुसार, अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १ सय ४२ शैय्या भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको जनाए । उनले सङ्क्रमण रोकथाम र सङ्क्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाइले अस्पतालमा शैय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताए ।

अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू शैय्या पर्खेर बसेको जानकारी गराउँदै उनले कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरेका छन् । कोरोना सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् । भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजङ्ग शाह हाल लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिने बिरामी संख्या बढी देखिएको बताउँछन् । परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए अहिले प्राय सबैमा सङ्क्रमण देखिने गरेको उनको भनाई छ ।

उस्तै, बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले भने निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा शैय्या थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताए । रासस