काठमाडौँ – नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा‌ नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलू मैदानमा पहिलो पटक टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको हो ।


ADVERTISEMENT


शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रनको विशाल योगफल तयार पार्यो ।


ADVERTISEMENT

# # #


२३९ रनको चुनौती पच्छ्याउँदै मैदान उत्रिएको नेदरल्याण्ड नेपाली बलरसामू निरीह साबित भयो । उसले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमै समेटियो ।

टी-२० क्रिकेटमा यो नेपालको सर्वाधिक रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१९ मा भुटानलाई १४१ रन अन्तरले हराएको थियो ।

नेदरल्याण्डका लागि सेबास्टियन ब्राटले सर्वाधिक नटआउट २६ रन बनाए । यस्तै म्याक्स आ’डोटले सर्वाधिक २० रन र कप्तान पिटर सिलर १२ बलमा २ चौकाको मदतमा १३ रन बनाएर आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चिए । यस्तै कमल सिंह ऐरी र स‌न्दीप लामिछानेले २-२ विकेट बाँडे । अभिनास बोहराले १ विकेट लिए ।

यसअघि नेपालका लागि नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । सिरिजका ५ खेलमध्ये ४ खेलमा अर्धशतक बनाएका उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै आशिफ शेखले ८ बलमा १ चौका र २ छक्का हान्दै १६ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्काको मदतमा ३३ रन बनाए ।

यस्तै कुशल मल्लले अर्धशतक बनाए । उनले २४ बलमा २ चौका र ५ छक्का ठोक्दै नटआउट ५० र दीपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्का हान्दै ४८ रनमा नटआउट रहे ।‌‌

नेदरल्याण्डका‌ लागि फलिप बोइसेभेलले २ विकेट लिए भने सेवास्टिएन वार्टका नाममा १ विकेट रह्यो ।