काठमाडौँ– काठमाडौँ महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ ।


ADVERTISEMENT


मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि सङ्क्रमणको जोखिम न्युनिकरण गर्नका लागि जेट मेसिनको प्रयोग गरिएको हो ।


ADVERTISEMENT

# # #


बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने व्यक्तिलाई लक्षित गर्दै उक्त मेसिन सञ्चालनमा ल्याइएको गर प्रमुख विद्यासुन्दर शाक्यको भनाई छ । उनी भन्छन्, ‘यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसङ्क्रमणको काम गरिरहेका छौँ । ’

गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा निसङ्क्रमण गरेको थियो । महामारीका कारण अहिले सरकारले देशका ५२ जिल्ला र केहीमा आंशिक तथा केहीमा पूर्णरूपमा बन्दाबन्दी गरेको अवस्था छ ।

यसैबीच महानगरपालिकाले बढिरहेको सङ्क्रणदरलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ । कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेशनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई पनि जोड दिएको प्रमुख शाक्यको दाबी छ ।

साना–साना धेरै आइसोलेशन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पुर्‍याउन कठिन हुने बताउँदै शाक्यले भने, ‘यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन । त्यहाँ कुनै कारण जोखिम सिर्जना भयो भने जिम्मेवारी लिने कोही हुँदैन । त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ठूला अस्पतालसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ ।’ रासस