गण्डकी– नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


निर्देशनालयलाई रु. एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु. ५० हजार ७८० बराबरको सामग्री प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


संस्थाका तर्फबाट पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, स्यानिटाइजर, स्यानिटाइजर स्ट्यान्ड, थर्मल गन, साबुन, स्प्रे बोतल, ग्लोब्सलगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयलाई प्रदान गरिएका सामग्री ग्रहणका क्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार व्यक्त गर्दै विषम परिस्थतिको मूल्याङ्कन गरेर नेलम्बोले सहयोग गरेको बताए ।

पहिलो चरणमा विभिन्न सङ्घसंस्थाबाट प्रदेश सरकारलाई रु चार करोड बराबरको सहयोग प्राप्त भएको जानकारी दिँदै उनले दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गरेका छन् । संस्थाका अध्यक्ष देवकोटाले सरकार, सङ्घसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने बताए।

निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको उल्लेख गर्दै उहाँले महामारीविरुद्घ लड्न निर्देशनालयलाई रु. १५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने जनाउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास राखेका छन् । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पुर्‍याइने बताए ।

नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिँदै संस्थाले आफ्नो स्थापनाको चार वर्षयता शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको बताए । रासस