खलाङ्गा– जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । वि.सं २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।


ADVERTISEMENT


पुनर्निर्माणका लागि दूतावासले रु. दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । सो रकमले विद्युत्को दुईवटा जेनेरेटर खरीद गरिएको थियो । अहिले विद्युतगृहमा रहेका दुवै जेनेरेटर चलिरहेका छन् । विद्युत् पुनर्निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।


ADVERTISEMENT

# # #


संविधानसभा सदस्य ललितजङ्ग शाहीले भारतीय सरकारका तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत् पुनर्निर्माणमा गरिएको सहयोग उपलब्धिपूर्ण रहेको बताएका छन् । उनी भन्छन्, ‘भारत सरकारले यहाँको विद्युत् मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौँका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो ।’

भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए । जुम्लावासीको आग्रहबमोजिम भारत सरकारले विद्युतुमा लगानी गरेर पुननिर्माणको काम गरिदिएकामा जिल्लावासी खुशी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कर्मा बुढाले जनाए । तत्कालीन थोरै घरका लागि निर्माण भएको विद्युत् जीर्ण हुदैँ जाँदा समस्या भएको थियो । अहिले पुनर्निर्माणले थोरै भए पनि राहत मिलेको छ ।

सांसद् शाहीको कार्यकालमा एलइडी बल्बको अवधारणा अघि बढ्यो । संसद् विकास कोषको रु. २० लाख र साना जलविद्युत् उपभोक्ता समितिको रु. पाँच लाखमा प्रतिघर चारवटा बल्ब निःशुल्क बाँडियो । ‘तर पनि विद्युत् समस्या समाधान हुन सकेन । जुम्लाको विद्युत् समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन’, साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बढ्थापाले बताए। सदरमुकाम खलङ्गामा मात्रै विद्युतका तीन हजारभन्दा बढी ग्राहक रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले जनाए । रासस