सुनसरी – नेकपा एमाले सुनसरीकी इन्चार्ज भगवती चौधरीले कोरोना नियन्त्रणमा लाग्न अपील गरेकी छन् । उनले शनिवार प्रेस विज्ञप्ति निकाल्दै आम उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, पेशाकर्मी, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा जिल्लामा रहेका सबै राजनीतिकर्मीहरु तथा एमाले पार्टीमा रहेका जिल्ला कमिटिका सदस्य तथा जनवर्गीय संगठनलाई कोरोना महामारीमा खटिन आग्रह गरेकी हुन् ।


ADVERTISEMENT


उनले सरकारको मुख ताकेर मात्रै महामारीबाट मुक्ति पाउन नसकिने बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताइन् । बढ्दै गएको कोरोनाले निषेधाज्ञा लम्बिने संकेत देखिएकाले यसको प्रत्यक्ष मार श्रमिक, दैनिक ज्यालादारीमा काम गर्ने वर्ग र समुदायलाई परेकाले राजनीतिक दल, समाजसेवी, उद्योगी, व्यवसायीहरुले ती वर्ग समुदायका लागि सहयोग जुटाउनुपर्ने उनले बताइन् ।


ADVERTISEMENT

# # #


पहिलो भेरियन्टमा सरकारले बेलैमा गरेको लकडाउन, संक्रमितको उपचार, स्वास्थ्य वीमा, स्थानीय, प्रदेश र केन्द्र सरकारले अपनाएको रणनीति आदिले अन्य देशको तुलनामा नेपाल सुरक्षित रहेपनि दोस्रो भेरियन्ट नियन्त्रणमा नेपाल चुकेको उनको भनाइ छ । संक्रमितको संख्या बढ्दै गएकाले आफ्नै ठाउँबाट जनताको जीवनरक्षाका लागि दिल खोलेर काम गर्नुपर्ने उनले बताइन् ।

‘कोरोना महामारीबाट जनतालाई बचाउन राज्यले आफ्ना सबै प्रकारका संयन्त्र प्रयोग गर्दैगर्दा पनि नसक्ने अवस्था सृजना भएको छ आज देशका कुनैपनि सरकारी, निजी अस्पतालहरुमा वेड पाउन मुस्किल छ, देशभर अक्सिजन, भेन्टिलेटर र आइसियूको हाहाकार मच्चिएको कारुणीक दृश्य देखापर्दा अब नागरिक स्तरबाट पनि महामारीसँग लड्न आवश्यक कदम चाल्न अपरिहार्य छ,’ उनले भनेकी छन्, ‘यसका अलावा हामी विभिन्न राजनीतिमा आस्था राख्ने राजनीतिज्ञले पनि कोरोना महामारीबाट हाम्रा जनतालाई जोगाउन, सुरक्षित राख्न हातेमालो गर्न आवस्यक छ ।’