काठमाडौँ – कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा पाँच हजार २३१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।


ADVERTISEMENT


नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियानका क्रममा यसरी उनीहरुलाई मास्क वितरण गरिएको हो। यस्तै प्रहरीले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सँगसँगै अघि बढाएको छ।


ADVERTISEMENT

# # #


अभियानको क्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने झण्डै ७०० व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। शनिबार देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा १६ हजार ४२२ जनालाई सचेत गराइएको छ।

प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनिकरणको लागि सचेतनामूलक सन्देशसहित माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँडडु नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन अनुरोध गरिरहेको छ।

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा आदेश उल्लङ्घन गरी हिँड्ने ११ हजार १८८ जनालाई होल्डमा राखी छाडिएकोे छ। सो क्रममा एक हजार ८६५ गाडी र ३ हजार १३७ मोटरसाइकल गरी ५ हजार २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रासस