काठमाडौँ– नेपाली काँग्रेसका नेता डा नारायण खड्काले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको कम्युनिष्ट गठबन्धन सत्ता प्राप्तिका लागि भएको बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता डा खड्काले वामपन्थीको गठबन्धनले नेपाली काँग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताए । “वाम गठबन्धन क्षणिक स्वार्थका लागि मात्र हो, यो लामो समय टिक्न सक्दैन,” डा खड्काले भने ।


ADVERTISEMENT

# # #


मुलुकको विकासका लागि राजनीतिक गठबन्धनभन्दा सिद्धान्तको गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो । पूर्व शहरी विकास मन्त्रीसमेत रहनुभएका नेता डा खड्काले नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षीसँग सहकार्य गरेपछि विनाविभागीय भएर कुर्चीमा बसिरहनु कुनै औचित्य नभएको बताए।

नेकपा (एमाले)का नेता शंकर पोखरेलले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि वाम गठबन्धन भएको बताए । “जति धेरै राजनीतिक पार्टी भयो, त्यति नै मुलुक अस्थिरतातर्फ गएकाले वाम गठबन्धन आवश्यक भएको हो,” नेता पोखरेलले भने ।

उनले लोकतन्त्रको अभ्यास गर्ने काँग्रेस कम्युनिष्ट गठबन्धनसँग आत्तिनु पर्ने कुनै कारण नभएको स्पष्ट पारे । आगामी निर्वाचनपछि वाम गठबन्धनबाट एमालेले सरकारको नेतृत्व गर्न पाए केपी शर्मा ओली नै प्रधानमन्त्री हुने उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले राष्ट्रको आवश्यकतालाई हेरेर वामपन्थी दलहरुले गठबन्धन गरेको बताए । उनले मुलुकमा स्थिर सरकार निर्माणका लागि कम्युनिष्ट विचारधारा मिल्ने दलहरु एक ठाउँमा उभिनु परेको स्पष्ट पारे।

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता केशव झाले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि लोकतान्त्रिक शक्तिसँग तालमेल हुने बताए । “राजपा संघीय समाजवादी फोरम नेपालसँग तालमेलको बारेमा कुरा भइरहेको छ, फोरमसँगको कुरा मिलेपछि काँग्रेससँग कुरा थाल्छौँ,” नेता झाले भने ।